PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'इगो क्ल्यास'मा व्यस्त बालुवाटार, सत्ता गुट र गोटीमा अल्झिँदा कोरोना छु मतलब!



सहयोग रञ्जित

'इगो क्ल्यास'मा व्यस्त बालुवाटार, सत्ता गुट र गोटीमा अल्झिँदा कोरोना छु मतलब!

सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अधिवेशनको अन्त्य गरिसकेकी छिन्।

संसद अधिवेशन अन्त्य गर्नुको मुख्य कारण संसदको बिजेनस पूरा भएको र कोरोनाको कहरलाई देखाइएको छ। तर एकथरी भने यसलाई प्रधानमन्त्री ओलीको सत्ता लम्बयाउने प्रयासको रुपमा व्याख्या गरिरहेका छन्। अध्यक्ष र प्रधानमन्त्री पद छाड्नु वा पार्टीमा बहुमत सिद्ध गर्नुबाहेक विकल्प नदेखिएपछि एक्लिएका ओलीले संसद अधिवेशन अन्त्य गर्ने नीति लिएका हुन्।

बहुमत सरकारको नेतृत्व गरिरहेका ओलीलाई पछिल्लो केही दिनयता सत्ता संकट परेको छ। पार्टीभित्रैबाट उनको राजीनामा मागेपछि ओली सत्ता लम्बयाउने अस्त्रको खोजीमा छन्। संसद अधिवेशको अन्त्य गर्नु त्यसैको परिणाम हो। कोरोना कहरबीच बढेको राजनीतिक ‘इगो’ को लडाइको ‘क्लाइमेक्स’ अझै बाँकी नै छ।

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि गठन भएको ‘नेकपा’ सुरुवाती चरणदेखि नै ‘पावर सेयरिङ’मा अलमलिरहेको थियो। संसद अधिवेशन अन्त्य गरेर ओलीले पार्टी भित्रै पावर सेयरिङमा ‘बार्गेनिङ’ गर्ने ठाउँ खोजेका छन्।

+++

२०७३ मा प्रचण्डले संसदमा भाषण गर्दा त्यसबखत प्रधानमन्त्री नै रहेका केपी ओलीलाई लक्षित गर्दै उनमा अंहकार बढेको बताएका थिए। माओवादीलाई प्रयोग गर्ने अनि कमजोर बनाउने प्रधानमन्त्रीमा इगो र सेल्फ  सेन्ट्रिक कार्यशैली देखिएको आरोप लगाएका थिए।

ओली पनि के कम। आफ्नै शैलीमा आफूलाई इगो र सेल्फ सेन्ट्रिक भन्नेलाई विगत फर्केर हेर्न भनिहाले।

त्यसको दुई वर्षपछि खोलो फर्कियो। माओवादी केन्द्र र एमाले एकीकरण गर्ने निर्णय गरियो। देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको मुख्य ‘स्ट्राइकर’ तोकियो तिनै ओली र प्रचण्डलाई।

सबै कटुता बिर्सिएर अघि बढेका यी दुवै नेताबीच बेलाबखत शक्ति संघर्ष चलिरह्यो।  एकतापछि पनि ओलीको ‘इगो’ फेस गर्न बाध्य बने प्रचण्ड। कार्यकारी अध्यक्षको ‘ट्याग’ दिएर ओलीले नै सबै निर्णय गरेको उनको बुझाइ छ।

एकीकरण हुँदा दुबै नेताबीच पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको एकथरीको दाबी छ। ओली पक्षले यो कहिलै स्वीकारेन। बरु उल्टै प्रचण्डलाई कार्यकारी अधिकार दिने र आफू पाँच वर्ष प्रधानमन्त्री बन्ने कुरामा  ओलीले प्रचण्डलाई कन्भिन्स् गरेका थिए। तर ओलीले कहिल्यै प्रचण्डलाई कार्यकारी हैसियत दिन भने तयार भएनन्। ओलीसँग शत्रु, मित्र हुँदै एकसाथ पार्टीको कमान्ड सम्हाल्न पुगेका प्रचण्ड फेरि ओलीमा ‘इगो’ देख्दैछन्। आफ्नो भूल सुधार गर्छु भन्दैछन्।

त्यसैले त स्थायी कमिठी बैठकमा प्रचण्डले मागे ओलीको राजीनामा।

एकले अर्कालाई विश्वास नगर्दा उत्पन्न भएको परिस्थिति संसद अधिवेशन अन्त्यसँगै झनै खराब हुन सक्ने अवस्था देखिएको छ।

बालुवाटारमा एकातिर स्थायी कमिटी बैठक र अर्कोतिर मन्त्रिपरिषद् बैठक सँगसँगै सञ्चालन गरेका ओलीले सरकारी निवासभित्र नै आफूलाई हटाउने प्रयास गरिरहेकाहरुलाई झट्का दिए।

प्रधानमन्त्रीले बेलाबेलामा बोलेर जनतालाई पनि झट्का दिन्छन्। कहिले कोरोना लागेको कसैको मृत्यु भएको छैन भनेर त कहिले हाच्छिउँ साच्छिउँ गरेर कोरोना भाग्छ भनेर। कहिले बेसारको महिमा गाएर र कहिले तातो पानी खानु भनेर।

एक राजनीतिक पार्टीभित्रको शक्ति संघर्षको कारण ‘लकडाउन’ मा बस्न बाध्य भयो संसद् र कोरोनासँग जुधिरहेका नेपाली। प्रधानमन्त्रीको सत्तामा टिक्ने मोह र प्रचण्डलगायत अरु नेताको वर्चश्वको लडाइको मारमा  नेपथ्यमा हरायो कोरोना महामारीको संत्रास।  

पार्टीभित्र नेताहरु जति आजित भएका छन् ओलीसँग कोरोना नियन्त्रण गर्नुभन्दा यस्तै खाले बोली बोलेकाले ओलीसँग जनता पनि निराश छन्।

नेपाललाई कोरोना मुक्त राष्ट्र बनाउन नसकेपछि गरिएको लकडाउनले सय दिन नाघेको छ।  १०० दिन अघि दुई जनामा देखिएको संक्रमण अहिले १४ हजारभन्दा बढीमा देखिएको छ। ३० जनाको त मृत्यु भइसक्यो। ओली भने बेसार पानीको महिमा र सरकारको सफलताको व्याख्यामा नै व्यस्त छन्।

सरकारले जनदबाबपछि लकडाउनलाई खुकुलो बनायो। केही कार्यविधि केही मोडलिटी तय गरेको बतायो। तर सडकले त्यस्तो भन्दैन। कार्यविधि र मोडालिटी कागजमा सीमित छन्। समुदायस्तरमा संक्रमण फैलिन सक्ने अवस्था छ। तर, बालुवाटारको आँखा सत्तामा छ। जनता पनि के कम उनीहरुले बिर्सिसके कोरोना। लागेपछि आफै ठीक हुन्छ भन्ने कुरामा विश्वस्त भइसके सायद। सडकमा देखिने मानिसको भिड त्यसको उदाहरण हो। त्यसैले ‘कोरोना छु मतलब’ भन्दै सरकार आनन्द छ सत्ता संघर्षमा।  

एकातिर संघर्ष बालुवाटारमा छ। अर्को तिर सामाजिक संजालमा। प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको भनेर दिएको अभिव्यक्ति र पार्टीभित्रै मागिएको उनको राजीनामाबाट धेरै सशंकित भएका छन्।

आफ्नै पार्टीको बहुमत हुँदा भारतले आफूलाई हटाउन खोज्यो भनेर उनले दिएको अभिव्यक्तिपछि सुरु भएको सत्ताको खेलले फेरि नेपालमा सरकार निर्माण कसले गर्छ भन्ने प्रश्न खडा गरेको छ। 

प्रो ओली समूह आफ्नै पार्टी र प्रचण्ड, माधव नेपालसहितका नेताहरुलाई ‘भारतीय गोटी’ का रुपमा प्रचार गरिरहेका छन् अहिले। नेकपा एमाले ब्युताउँनुपर्ने मागसमेत नगरेका होइनन् उनीहरुले। विज्ञ सल्लाहकार र अरिंगालको समूहको आड बाहिर निस्किन सकेका छैनन् प्रधानमन्त्री ओली।

त्यसैले त प्रो ओली समूह ओली बिना नेकपाको भविष्य अन्धकार छ भन्दैछन्। अर्का अध्यक्षलाई खिसिट्युरी गर्दैछन्। ओली पनि समर्थक देखेर दंग छन्। प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाड्ने मनस्थितिमा छैनन्।

ओली आफूलाई ‘स्ट्राइकर’ को भूमिकाबाट हटाउन खोजेकाहरुसँग बार्गेनिङमा छन्। प्रचण्ड भने ‘स्ट्राइकर’ आफू रहेको देखाउन तल्लिन छन्। ‘लुज’ लकडाउनमा कोरोनासँग अलिअलि डराउँदै रमाइरहेको जनता भने सत्ता संघर्षमा अरु नै ‘स्ट्राइकर’ रहेको हुन सक्ने आशंकामा छन्।  

भूपि शेरचनले भने झै भएको छ नेपाल,

‘एउटा खेलाडीमाथि आश्रित

आफ्नो गति हराएका

एउटा ‘स्ट्राइकर’द्वारा संचालित

हो, हामी मानिस कम बर्ता गोटी हौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell