भारतको विहारमा एक विवाह समारोह कोरोना भाइरसको संक्रमण फैलाउने माध्यम बनेको छ।
विहारको पटनास्थित पालीगंजमा १५ जुनमा नयाँ दिल्लीमा काम गर्दै आएका सफ्टवेयर इन्जिनियरको विहे भएको थियो। पेट दुखेर २ दिनपछि १७ जुनमा उनको मृत्यु भयो। कोरोना परीक्षण नगरिकनै अन्त्येष्टि गरियो।
लकडाउनका कारण भारतमा विहेमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम छ। तर, यो नियम उल्लंघन गर्दै २६ वर्षीय इन्जिनियरको विहेमा ४ सय जनासम्म सहभागी भएको पाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुलाहाको अन्तिम संस्कारमा २ सय जना सहभागी थिए।
विहारका अधिकारीका अनुसार विहेमा गएका १११ जना संक्रमण भेटिएको छ। दुलाहाका पिता पनि संक्रमित भएर आइसोलेशनमा छन्।
पटनाका चिफ मेडिकल अफिसर राजकिशोर चौधरीले विवाह र अन्तिम संस्कारमा सहभागी भएकामध्ये अहिलेसम्म १ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको बताए। अन्य सबैलाई पहिचान गरेर आइसोलेसनमा राखिएको उनले जानकारी दिए।
अधिकारीहरुले विवाह र अन्तिम संस्कारमा सहभागी भएका पाहुनाले सामाजिक दुरीका नियमहरुको उल्लंघन गरेको बारे अनुसन्धान अघि बढाएका छन्।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण भारतमा ५० जना भन्दा बढी विवाहमा सहभागी हुन पाउँदैनन भने २० जनाभन्दा बढी अन्तिम संस्कारमा सहभागी हुन मनाही छ।
