PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, ८ जना घाइते



राधेश्याम पटेल

चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, ८ जना घाइते

वीरगंज : बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा बिहीवार बिहान चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको छ भने सात जना महिला घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिहान सात बजे परेको चट्याङबाट खेतमा काम गरिरहेका कलैया उपमहानगरपालिका-१२ शीतलपुर निवासी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको मृत्यु भएको बताए। उनले चट्याङ लागेर घाइते दुवै जनालाई कलैया अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बताए।

यसैगरी, बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलमा पनि धान रोपाइँ गर्ने क्रममा दुई जना महिलाको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको प्रवक्ता मिश्रले बताए।

फेटा गापा-१ की ४० वर्षीया सोनारपति देवी महतो र ३० वर्षीया तेन्दुदेवी महतोको मृत्यु भएको उनले बताए।

त्यस्तै, चट्याङ लागेर ४० वर्षीया वचनादेवी हजरा, ६० वर्षीया राजपति देवी, ३५ वर्षीया कान्तिदेवी, ६० वर्षीया उमादेवी ठाकुर, २५ वर्षीया लीलावती देवी, ३५ वर्षीया सुशीला देवी र ६० वर्षीया तीलादेवी धोबी घाइते भएको प्रवक्ता मिश्रले बताए। घाइतेहरू पनि खेतमा रोपाइँमा थिए। घाइते सात जनाको नारायणी अस्पतालमा उपचार भइरहेको उनले बताए।

यसैगरी, चट्याङ लागेर पर्सा जिल्लामा एक जना बालक घाइते हुनुका साथै केही स्थानमा घरमा क्षति पुर्‍याएको छ। पर्सा जिल्ला बहुदरमाई नगरपालिका बैरियाबिर्ताका १३ वर्षीय बालक घाइते भएका र उनको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ।

चट्याङ लागेर जिल्ला स्वास्थ्य कार्यालय पर्साको भवनमा पनि क्षति पुगेको छ। चट्याङले वीरगंज-१४ पिपरामा रहेको स्वास्थ्य कार्यालयको भवनमा क्षति पुर्‍याएको र विद्युतीय उपकरणहरू नष्ट भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। स्वास्थ्य कार्यालय रहेको भवनमा चट्याङले विद्युत् सर्ट भएर आगलागी भएको र विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।

विद्युत् सेवा अवरुद्ध भएपछि फ्रिजमा राखिएका करिब पचास लाख मूल्य बराबरको खोप (भ्याक्सिन) खराब हुन सक्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताए। उनले कोल्ड चेन सिस्टम जलेको र चारवटा कम्प्युटर तथा आठवटा फ्रिज चट्याङबाट क्षतिग्रस्त भएको बताए। चट्याङ लागेर लक्ष्मीदास थारू र उनका भाइ प्रेमनारायण दासको घरमा क्षति भएको छ।

पर्सागढी नगरपालिका-१ मनवामा बिहान परेको चट्याङले दुवैको घरमा क्षति पुगेको बताइएको छ। टिभी, पङ्खा, कपडालगायतका सामानहरूमा क्षति भएको मनवा प्रहरी चौकीले जनाएको छ। पर्सागढी नगरपालिका-३ झुलीटार गाउँमा बिहीवार बिहान परेको चट्याङले एक दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ।

प्रहरी चौकी बिरुवागुठीका इन्चार्ज मीनराज काफ्लेले सो टोलमा दुई लाख मूल्यभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए। चटयाङ् लागेर मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले एक/एक लाख सहयोग गर्ने जनाएका छ। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले यस्तो सहयोग गर्ने जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell