PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

कोरोनाको कहरका बीच नयाँ उद्योग : तीन प्रदेशमा पुर्‍याउने गरी कैलालीमा ग्यास उद्योग सञ्चालनमा



पहिलोपोस्ट

कोरोनाको कहरका बीच नयाँ उद्योग : तीन प्रदेशमा पुर्‍याउने गरी कैलालीमा ग्यास उद्योग सञ्चालनमा

कैलाली : कोरोना भाइरस (कोभिड-१९)को कहरका कारण उद्योग व्यवसाय प्रभावित भइरहेको बेला सुदूरपश्चिममा भने ३० करोडको लगानीमा नयाँ ग्यास कम्पनी सञ्चालनमा ल्याइएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा प्लाण्ट स्थापना गरी सैपाल ग्यास प्रालिले बिहीवारदेखि सैपाल एलपी ग्यास सिलिण्डर बजारमा ल्याएको हो। यो ग्यास प्रालिले नेपाल आयल निगमबाट तीन महिनाअघि सञ्चालन अनुमति पाएको थियो।

बिहीवारबाट कैलाली र कञ्चनपुरका ४० वटा डिलरमार्फत ग्यास बजारमा पठाएको सैपाल ग्यास प्रालिका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए। करिब ३० करोड लगानीमा ४३ कट्टा जग्गामा कैलालीको गोदावरी नगरपालिका-१ मा उद्योग सञ्चालन गरेको सैपाल ग्यासले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने सञ्चालक घिमिरेले जानकारी दिए।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका सैपाल ग्यासका सञ्चालक घिमिरेले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिमसँगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाइने बताए। उनका अनुसार उत्पादित ग्यास सिलिण्डर सुदूरपश्चिम प्रदेशका ९ वटै तथा कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश ५ का दुई जिल्ला बाँके र बर्दियासम्म बजारीकरण गरिने छ।

यो ग्यास प्रालिमा ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। यसअघि कैलालीका पाँच जनाको स्वामित्वमा रहेको उक्त ग्यास प्रालिलाई एभरेष्ट ग्यास ग्रुप काठमाडौंले १८ करोडमा खरिद गरेको जनाइएको छ।

सैपाल ग्यास खरिदपछि एभरेष्ट ग्यास ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ। पूर्वमा प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेष्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग रहेको एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष समेत रहेका घिमिरेले बताए।

यो ग्यास प्रालिसँगै सुदूरपश्चिममा एलपी ग्यास उद्योगको संख्या दुई पुगेको छ। यसअघि गोदावरी नगरपालिकाको मालाखेतीमा रेडियन्ट एलपी ग्यासले प्लाण्ट स्थापना गरी बजारमा आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell