नयाँ दिल्ली : बिहीवार भारतमा कोरोनाका कारण मर्नेको संख्या १८ हजारको सीमा पार भएको छ। त्यसैगरी एकै दिन भारतमा नयाँ २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्।
भारतको महाराष्ट्रमा ६ हजार ३ सय ३०, तामिल नाडूमा ४ हजार ३ सय ४३, कर्नाटकमा १५ सय २ र तेलङ्गनामा १२ सय १३ जना नयाँ संक्रमित थपिएका हुन्।
यता नेपालसँग जोडिएका भारतीय राज्यहरु उत्तर प्रदेश र बिहारमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ। उत्तर प्रदेशमा एकै दिन ८ सय १७ नयाँ संक्रमित थपिएका छन्। बिहारमा पनि ४ सय ७८ जना नयाँ संक्रमित थपिएका हुन्। यता पश्चिम वंगालमा पनि ६ सय ४९ संक्रमित थपिएका छन्। असाममा ४ सय ८ नयाँ संक्रमित थपिएका छन्।
बिहीवारमात्रै ३ सय ७९ जना भारतीयले संक्रमणका कारण ज्यान गुमाएका छन्। गएको सात दिनमा झन्डै ३ हजार मानिसले ज्यान गुमाएका हुन्।
बिहीवार २२ हजार ४५ नयाँ संक्रमित थपिएपछि भारतमा हिजो साँझसम्म कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार २३ पुगेको छ।
