काठमाडौं : सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुदेखि तिंकरसम्मको घोडेटो बाटो मर्मत गरेको छ। ठाउँठाउँमा सुख्खा पहिरो र हिउँले अवरुद्ध बाटोलाई छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)को टोलीले स्थानीयसँगको सहकार्यमा घोडेटो बाटो सुरु गराएको हो।
सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त बाटोबाट आवतजावत बन्द थियो। सशस्त्रले बाटो सुचारु गराएपछि स्थानीय जनता खुशी भएका छ्न्। छाङरुको बीओपी प्रमुख इन्स्पेक्टर लिलीबहादुर चन्दले करिब १० ठाउँमा बिग्रिएको बाटो स्थानीयसँग मिलेर मर्मत गरिएको बताए।
‘एक महिना अघि कुञ्जा सर्नेक्रममा हामीले स्थानीयको सहयोगमा बाटो बनाएका हौं। त्यतिखेर सञ्चार सुविधा नहुँदा यो सूचना सार्वजनिक भएन,’ उनले भने।
सेनाले घाटीबगरको बाटो बनाउँदै
यता नेपाली सेनाले सदरमुकाम खलंगादेखि कालापानी क्षेत्रको छाङरुसम्म बिग्रिएको घोडेटो बाटो निर्माण गरिरहेको छ। घाटीबगरमा क्याम्प खडा गरेर सेनाले ४५० मिटर बाटो मर्मत गर्न लागेको हो। सुख्खा पहिरो हटाउनुपर्ने र चट्टान फुटाउनुपर्ने भएकाले सेनालाई सडक बनाउन समय लागेको छ। असार मसान्तभित्र निर्माण गरिसक्ने सेनाको लक्ष्य छ।
तीन वटा बीओपी थपिए
दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो।
यसअघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या ४ पुगेको छ।
बिहीवार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बीओपीको उद्घाटन गरेका हुन्।
