काठमाडौं : पछिल्ला केही दिनयता काठमाडौँमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या लगातार थपिइरहेको छ। बिहीवार मात्र काठमाडौँमा २८ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित शिशुको मृत्यु पनि भयो, बुधवार राति। उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि दुई/दुई जना सङ्क्रमित थपिए हिजोमात्रै।
काठमाडौँमा थपिएका सङ्क्रमितको अवस्था कस्तो हो? ट्राभल हिस्ट्री के छ? समुदायमा फैलिएको सङ्क्रमण हो कि अन्यबाट आएको केही खुल्न सकेको छैन। अधिकांश प्रदेशले सङ्क्रमण भेटिएका बिरामीको उमेर र पालिकासम्मको विवरण सार्वजनिक गर्दै आएका छन् ता कि सजिलै उनीहरुसँग सम्पर्क भएका मानिस आफैँ सचेत हुन सकुन् र स्वास्थ्यकर्मीको सम्पर्कमा पुगुन्। गण्डकी प्रदेश यस विषयमा सबैभन्दा अगाडि देखिन्छ। तर, वाग्मती प्रदेश यस विषयमा मौन देखिन्छ भने स्वास्थ्य मन्त्रालयले पनि काठमाडौँमा भेटिएका कोभिड १९ का संक्रमितको ठेगानालाई जिल्लामै सीमित राख्न खोजिरहेको छ।
जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयलसम्मले काठमाडौँका सङ्क्रमित बिरामीको जानकारी दिन चाहँदैनन्। सङ्क्रमित बिरामीको विवरण सार्वजिनक गर्नुको अर्थ उसको नाम, फोन नम्बर तथा फोटो होइन। तर कुन स्थानमा बस्ने? र कहाँबाट आएका हुन्? भन्नेजस्ता विवरणले अरुलाई थप सचेत गर्न सघाउँथ्यो। यसैबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई सोध्यौं - काठमाडौंमात्र भनियो, कहाँका मानिस हुन्, कहाँबाट आएका हुन् कि यहीँकै?
'हामीलाई विवरण दिनु भन्ने आदेश छैन। त्यसैले अहिले विवरण नदिएको हो,' प्रवक्ता गौतमले प्रष्ट शब्दमा भने। काठमाडौंमा बुधवार पनि १७ जना संक्रमित भेटिएका थिए। संक्रिमतको संख्या भन्ने तर ठेगाना नखुलाउँदा स्थानीय तह पनि अलमलमा परेका छन्। केही अघि सिन्धुपाल्चोकका संक्रमित भनेर सार्वजनिक गरिएको व्यक्ति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भेटिएका थिए। त्यहीँबाट उनलाई अस्पताल पुर्याइएको थियो।
काठमाडौँमा सङ्क्रमण भेटिएका धेरै जसो विदेशबाट आएको हुनसक्ने सम्भावना छ तर त्यसो हो भने पनि सूचना लुकाउनुको औचित्य स्वास्थ्य मन्त्रालयले प्रस्ट पार्न सकेको छैन। त्यस्तै, काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीमा पनि सङ्क्रमण भेटिएको हुनसक्छ। त्यसो हो भने पनि जानकारी उपलब्ध गराउँदा मन्त्रालयले गुमाउनुपर्ने केही थिएन।
कोरोनाका कारण मृत्यु हुने पहिलो केस सिन्धुपाल्चोक बाह्रबिसेकी महिला थिइन् जो शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी थिइन्।
'मसँग सबैको तथ्याङ्क पनि हुँदैन। दिन पनि मिल्दैन। तर यति छ कि काठमाडौँमा भेटिएका धेरै विदेशबाट आएका हुन्,' प्रवक्ता डाक्टर गौतमले भने। त्यसभन्दा धेरै बोल्ने उनलाई म्यान्डेट छैन।
काठमाडौंमा लकडलाउन धेरै हदसम्म खुला भइसकेको छ। सवारीको चाप पनि उत्तिकै छ। बजार र पसलहरु खुलेका छन्। 'सामाजिक दुरी' कायम नारामा सीमित छ। मास्कको प्रयोग पनि खासै हुने गरेको देखिन्न। त्यसमाथि सूचना प्रवाह रोकेर काठमाडौं सुरक्षित देखाउने सरकारी प्रयास हो भने त्यो कुनै पनि समय घातक हुनसक्ने निश्चित छ।