PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

१० रुपैयाँ भन्सार थपेर चर्को बनाइएको पेट्रोल थप महँगो बनाउने तयारी



पहिलोपोस्ट

१० रुपैयाँ भन्सार थपेर चर्को बनाइएको पेट्रोल थप महँगो बनाउने तयारी

काठमाडौं : तीन दिन अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको आयल निगमले नोक्सानी गएको देखाउँदै फेरि भाऊ बढाउने तयारी गरेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख नोक्सानीमा जाने प्रक्षेपण गरिएको छ। पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको निगमको दावी छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ। 

निगमले तीन दिन अघि जुन १५ को मूल्यलाई हेरेर पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको मौका छोप्दै पेट्रोलियम पदार्थको भन्सार बढाएको थियो। भन्सार बढाएर सरकारी ढुकुटीमा पैसा जम्मा गर्ने अनि सरकार नियन्त्रित निगमलाई घाटामा देखाएर फेरि मुल्य बढाउने रणनीतिमा सरकार अगाडि बढेको छ।

सरकारले बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलको भन्सार लिटरमै १० रुपैयाँ थपेको थियो भने लकडाउनकै बेलामा निगमले चैत १९ गते पेट्रोल, डिजल तथा मट्टितेलको भाउ लिटरमै १० रुपैयाँ घटाएको थियो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमलाई चुनौती थपिएको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा निगम नोक्सानीमा गएको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लागेकोले निगमलाई चुनौती थपिएको छ।’

भन्सार वृद्धिपछि भने अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य उकालो लाग्न थालेको छ। अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ४३ अमेरिकी डलर पुगिसकेको थियो। कोरोना संक्रमणले विश्वव्यापी रुपमा आर्थिक गतिविधि ठप्प हुँदा कच्चा तेलको भाउ इतिहासमै पहिलोपटक शून्यभन्दा तल (माइनसमा) समेत ओर्लिएको थियो। त्यसबाहेक ठूला आयोजनाका लागि भन्दै प्रति लिटर ५ रुपैयाँ सरकारी कोषमा दाखिला गरिँदै आएको छ।

राजनीतिक गर्मागर्मीमा भाउ बढाउने चाप

सरकारलाई एकातिर पपुलिस्ट राजनीति गर्नुपर्ने वाध्यता छ भने अर्कातिर अर्थतन्त्र डावाडोल हुँदा रकमको जोहो गर्नु पनि। त्यसैले करमाथि कर थपेर पेट्रोलियम पदार्थको भाऊ लगातार बढाउनेक्रम जारी छ। निगम नेतृत्व भने अहिले यही संकटबाट गुज्रिरहेको छ। 

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्य घटाउन दबाब दिइसकेको छ। निगम स्रोतका अनुसार केही दिनभित्रै पेट्रोल, डिजल र मट्टितेलमा मूल्यमा हेरफेर हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell