PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीको अर्को अस्त्र : मदन भण्डारीका नाममा खोलिएका संस्था मार्फत् सडकमा शक्ति प्रदर्शन



विधुर ढकाल

ओलीको अर्को अस्त्र : मदन भण्डारीका नाममा खोलिएका संस्था मार्फत् सडकमा शक्ति प्रदर्शन

काठमाडौं : हिजो काठमाडौंमा दुई एकै प्रकारका दृश्य देखिए। तात्पर्य दुवैको विरोध थियो। एउटाको विरोध सरकारप्रति, अर्को समूहको विरोध सरकारको विरोध गर्नेप्रति। कोरोना संक्रमणको कहर एकातिर छ भने अर्कातिर राजनीतिक खिचातानीले देशको माहोल गर्मिएको छ।

चारैतिरबाट चेपुवामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनको अन्त्य गरे। लामो समयदेखि पार्टीका बैठकहरुलाई छल्दै आएका ओलीलाई नेकपा भित्रको प्रचण्ड र माधव नेपाल समूहले घेरा हाल्दै लगेका छन्। चेपुवामा परेका प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्यलाई अस्त्रको रुपमा लिए। अर्कोतिर उनले सडकलाई पनि रोजेका छन्। उनको सर्मथनमा बिहीवार काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शनमा मानिसहरु उत्रिए। आज पनि ठाउँठाउँमा यस्तै प्रदर्शन भइरहेको छ।

बिहीवार पाटनमा 'इनफ इज इनफ'को प्रदर्शन सामाजिक दुरीसहित सरकारको विरोधमा देखियो। त्यही समय माइतीघर मण्डलमा अर्को समूह प्रधानमन्त्रीको ठूलो होडिङ बोर्डसहित उत्रियो।

सडकमा सरकारको विरोधमा उत्रिएकाहरुलाई प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा ब्यंग्य गर्दै भनेका थिए- 'मैले पनि हेरेको छु। सडकमा कोरोना भाइरस इनफ इज इनफ भनेर उत्रिएको देखेको छु। कोरोना भाइरस इनफ इज इनफ होइन, मोर देन इनफ हो।'

अर्कातिर सरकार समर्थित तथा ओली पक्षधरहरुले सरकारको विरोधमा उत्रिएको समूहलाई सामाजिक सञ्जाल मार्फत् कोरोना भाइरस फैलाउन खोजेको आरोप लगाएका थिए। आज त्यही समूह सामाजिक दुरी भंग गर्दै सडकमा प्रधानमन्त्री ओलीको तस्विरसहित प्रदर्शनमा उत्रिरहेको छ।

प्रदर्शनमा उत्रिने को?

आज पनि ४ बजे ओलीको पक्षमा 'आइएम विथ ओली' नारासहित देशभरका विभिन्न शहरहरुमा प्रदर्शनको तयारी भइरहेको छ। यसरी प्रदर्शनको समन्वय गरेको छ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मदन भण्डारी फाउन्डेसनले।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले फेसबुकमा एकेडेमीको तर्फबाट तयार पारिएको व्यानर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

उनले बिहीवार नै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई हटाउन खोजेको भन्दै विरोध गरेका थिए।

'जनताबाट निर्वाचित प्रतिनिधिहरुको संसदीय दलबाट निर्वाचित संसदीय दलको नेता र संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई सीमित, स्वार्थी, पदलोलुपी र पूर्वाग्रही व्यक्तिहरुले रातदिन राजीनामा माग्ने कार्य शोभनीय छैन। महाधिवेशनबाट निर्वाचित अध्यक्षको राजीनामा माग्ने पनि कुनै झण्डको नैतिक र कानुनी विषय होइन। सारा जनताले बनाएको प्रधानमन्त्री हो। सिङ्गो पार्टी र महाधिवेशनले बनाएको अध्यक्ष हो,' उनले जारी गरेको वक्व्यमा भनिएको छ, 'विदेशीको इसारा र राष्ट्रघाती तत्वहरुको संलग्नतामा देश, जनता र सरकारबिरुद्ध लाग्नेहरुलाई खवरदारी गरौं र राष्ट्रियता, स्वाभिमान र समृद्धिका निम्ति देशैभरिबाट प्रधानमन्त्री केपी ओली र यो सरकारको पक्षमा आवाज बुलन्द गरेर जनताको आसा र भरोसालाई जिवित राख्न समेत सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैमा हार्दिक अपील गर्दछौं।'

यता, बिहीवार नै माइतीघरमा भएको प्रदर्शनको लाइभ भिडियो मडन भण्डारी फाउन्डेसनको पेज मार्फत् सेयर गरिएको थियो।

सधैं विवादमा मदन भण्डारीका नाममा खुलेका संघसंस्थाहरु

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको नाममा अहिले मदन भण्डारी स्मृति प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, मदन भन्डारी स्पोर्ट एकेडेमी, मदन भण्डारी क्रिकेट एकेडेमी लगायतका संघ संस्थाहरु सक्रिय छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठान तत्कालीन नेकपा एमालेले संस्थागत निर्णयबाट खुलेको संस्था भए पनि बाँकी संस्थाहरु पार्टीका नेताहरुले आफूखुशी खोलेका हुन्। यसरी खोलिएका संस्थाहरु ओली पक्षधरका नेता कार्यकर्ताको हालिमुहाली छ।

गत माघमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राईले मदन भण्डारीका नाममा खोलिएका संघ संस्थाहरु गुटको घर भएको आरोप नै लगाएका थिए।

‘फाउन्डेसनहरु गुटको अखडा भइरहेका छन्। पहिले फाउन्डेसन र प्रतिष्ठानहरु भत्काऔं अनि अरू कुरा गरौंला,’ राईले बैठकमा भनेका थिए।

पटकपटक ओली पक्षधर समूहहरु फाउन्डेसनको ब्यानरमा भेला हुँदै आएका थिए। राईले केन्द्रीय कमिटी बैठकमै फाउन्डेसन भत्काउने प्रस्ताव राख्दा ओली समूहका छुट्टै भेला फाउन्डेसनमा भएको थियो।

एमालेको अध्यक्ष हुँदाखेरी नै ओलीले फाउन्डेसन मार्फत् पार्टीभित्र गुट चलाउँदै आएको राईले बताएका थिए।

'हिजो एमाले हुँदादेखि नै गुट चलाउनकै लागि फाउन्डेसन र प्रतिष्ठान खोलिएका हुन्। यिनै प्रतिष्ठानमार्फत् प्रधानमन्त्री ज्यूले गुट चलाउँदै आउनु भएको हो,' राईले पहिलोपोस्टसँग भने, 'अहिले कमजोर भएका ओलीलाई जोगाउनका लागि फाउन्डेसन सडकमा उत्रिनु स्वाभाविक नै हो। गुट जोगाउन उत्रिने नै भए।'

केन्द्रीय कमिटी, स्थायी कमिटीमा अल्पमतमा रहेका ओलीले यही फाउन्डेसन मार्फत् अहिले सडकमा आफ्नो पक्षमा मानिस उतारेको आरोप नेकपाका नेताहरुले लगाएका छन्।

यसअघि पनि पटकपटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि फाउन्डेसनका नाममा गुट भेला गरेको र गुट चलाएको आरोप लगाउँदै आएका थिए।

गत वैशाख २० गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई भनेका थिए, ‘तपाईंले फाउन्डेसनमा गुटहरुको भेला गरेर पार्टी विभाजनको खेल खेल्दै हुनुहुन्छ।’

प्रचण्डले मात्रै होइन, नेकपा एमाले हुँदा पनि मदन भण्डारी फाउन्डेसनका नाममा समानान्तर पार्टी चलाएको आरोप उनलाई लाग्दै आएको छ। २०६७ सालमा बुटवलमा सम्पन्न एमालेको महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित भएसँगै ओलीले फाउन्डेसनको कार्यालयलाई नै आफ्नो कार्यालयका रुपमा अगाडि बढाएका थिए।

मदन भण्डारीको जबजको विषयमा विद्यावारिधी गरेका नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुषालले पनि फाउन्डेसन र प्रतिष्ठानका नाममा स्थानीय तहसम्म ओलीले गुट निर्माण गरेको आरोप लगाए।

‘मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठान पार्टीको आधिकारिक निर्णयमा खुलेका होइनन्, उहाँहरुले व्यक्तिगत रूपमा सञ्चालन गर्नुभएको हो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘१० वर्षयता फाउन्डेसनका नाममा स्थानीय तहसम्मै गुटको बिस्तार गर्ने काम भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell