PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

शुक्रवार दिनभर प्रचण्ड - नेपाल समूहको नीति, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र पार्टी जोगाउने



प्रकाश भण्डारी

शुक्रवार दिनभर प्रचण्ड - नेपाल समूहको नीति, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र पार्टी जोगाउने

काठमाडौं : जसरी पनि प्रधानमन्त्री केपी ओलीलाई हटाउने प्रचण्ड-नेपाल गुटको रणनीति र कुनै हालतमा पनि राजीनामा नदिने ओलीको अडानले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा छ। कुनै हालतमा हटाउने र पद जोगाउन जे पनि गर्ने रणनीति अनुरुपकै गतिविधि बिहीवार दिनभर भए।

शुक्रवार पनि यी दुई समूहले आफ्न गतिविधि तीव्र रुपले अघि बढाउँदै छन्। यस्तै गतिविधिकै लागि बिहीवार नै स्थायी कमिटी बैठक एक दिन रोकेर शनिवारका लागि सारिएको छ। दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट जारी छ भने प्रचण्ड-नेपाल समूहको गुट भेलाको तयारी पनि हुँदैछ।

प्रचण्डले हिजो नै पार्टी फूटलाई रोक्न एकपटक शुक्रवार ओलीसँग कुरा गर्ने बताएका थिए। पार्टी ओलीले फुटाइ नै सकेको प्रचण्ड नेपाल समूहको बुझाइ छ। प्रचण्डनिकट नेता हरिबोल गजुरेलले ओलीले पार्टी फुटाउने अन्तिम कसरत गरिरेहकाले आफूहरु जोगाउने प्रयास गरिरेहको बताए।

उनले शुक्रवार पार्टी जोगाउन हर किसमका पहल हुने जानकारी दिए। 'आज पार्टी जोगाउनकै लागि विभिन्न खालका पहल हुन्छन्। प्रधानन्त्रीले त पार्टी फुटाउनका लागि एकपटक अध्यादेश पनि ल्याउनु भएकै हो। हाम्रो जोडबलले रोकियो,'उनले भने।

प्रचण्ड निकट मानिने अर्का नेता गणेशले शाह पार्टी फुट्ने सम्भावना कम भएको दाबी गरे। उनी अहिलेको झगडा राजनीतिक लेनदेनमा मिल्ने ठोकुवा गर्छन्। 'पार्टीमा जो जसले जे जे भने पनि, जे जति रस्साकस्सी भए पनि पावर सेयरिङको विषय मात्रै हो। त्यो मिल्ने नै छ, 'उनले भने। प्रचण्डले अन्तिम समयसम्म पनि ओलीको पार्टी फुटाउने रणनीति रोक्ने छन्। पावर सेयरिङमा कुरा मिलेन र ओली पद जोगाउने अन्तिम कसरतमा जुटे भने प्रचण्डले संसदको विषेश अधिवेशनको लागि पहल गर्ने शाहले बताए। संसदमा रहेका एक चौथाइ सांसदहरुले राष्ट्रपतिसमक्ष आह्वान गरेमा अधिवेशन राष्ट्रपतिले बोलाउन सक्ने ब्यवस्था छ। तर त्यस विषयमा प्रचण्ड नेपाल समूहले खुलेर गुटभित्र चर्चा गरिसकेको छैन। गजुरेल यस विषयमा प्रचण्डले मुख नखोलेको दावी गर्छन्। 'मैले थाहा पाएसम्म यो विषय उहाँले सोच्नु भएको छैन। तर अब कता के भइरहेको छ। सबै मलाई जानकारी हुने कुरा भएन।

शुक्रबार ओली र प्रचण्ड-नेपाल समूहले आफ्नो रणनीतिलाई मजवुद पार्न छुट्टा छुट्टै भेलाका लागि जुटेका छन्। यसअघि प्रधानमन्त्री केपी ओलीले केही दिनअघि बालुवाटारमा र प्रचण्डले झम्सिखेलमा भेला गरेका थिए। 'आज गुट भेला गर्नकै लागि त एक दिन स्थायी कमिटी स्थगित गरिएको हो। नत्र किन आज खाली गरिन्थ्यो र?,' स्थायी कमिटी सदस्य शाहको भनाई छ।

यता माधव नेपाल निकट मानिने नेता वेदुराम भुसालले पार्टी फूटबाट जोगाउन अन्तिम प्रयासमा शीर्ष नेताहरु जुटेको बताए। आज छलफलकाका लागि एक दिन स्थायी कमिटीमा छुट्टी दिएको उल्लेख गर्दै उनले भोलिको प्रस्तुतिले विवादको निकास निस्कने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell