PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ मा कोरोना संक्रमित ६१५ पुग्दा सबैभन्दा बढी झापाका, ४ सय डिस्चार्ज



अनन्तराज न्यौपाने

प्रदेश १ मा कोरोना संक्रमित ६१५ पुग्दा सबैभन्दा बढी झापाका, ४ सय डिस्चार्ज

विराटनगर : प्रदेश नम्बर १ मा हालसम्म ६ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा कोरोना सङ्क्रमणको तथ्याङ्क प्रस्तुत गरेका हुन्।

मुख्यमन्त्रीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा हालसम्म १ सय ३ महिला र ५ सय १२ पुरुषमा कोरोना सङ्क्रमण भएको उल्लेख छ। जसमध्ये ३२ महिला र ३ सय ६८ पुरुष गरी ४ सय जना कोभिड–१९ अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको उल्लेख छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी झापा जिल्लाका २ सय ५० जना छन्। जसमा ३४ महिला भएको बताइएको छ। दोस्रोमा मोरङ जिल्ला छ। मोरङमा २५ महिलासहित १ सय ६१ सङ्क्रमित भइसकेका छन्। त्यस्तै सुनसरीमा १८ महिलासहित ९२ र धनकुटामा २ महिलासहित ८ सङ्क्रमित भएका छन्।

विज्ञप्तिमा भोजपुरमा ६ पुरुष, खोटाङमा ३ महिला र ७ पुरुष, उदयपुरमा १७ महिला र ५० पुरुष, सोलुखुम्बुमा १ पुरुष, सङ्खुवासभामा ५ पुरुष, तेह्रथुममा १ महिला र १ पुरुष, इलाममा २ महिला र ८ पुरुष तथा पाँचथरमा १ महिलालाई कोभिड–१९ लागेको जानकारी दिइएको छ।

त्यस्तै ताप्लेजुङ र ओखलढुङ्गामा १–१ पुरुष सङ्क्रमित भएका छन्।

मुख्यमन्त्री राईले हालसम्म कोभिड–१९ का कारण प्रदेश नम्बर १ मा कसैको पनि मृत्यु नभएको जानकारी दिए।

उनले भने, ‘डिस्चार्ज भएकामध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ महिला र १ सय ७९ पुरुष गरी १ सय ८५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २६ महिला र ७९ पुरुष गरी १ सय ५ जना तथा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन केन्द्रबाट १ सय १० पुरुष डिस्चार्ज भएका हुन्।’

मुख्यमन्त्री राईका अनुसार लकडाउनपछि यस प्रदेशमा नेपालबाट भारततर्फ २४ हजार ८ सय १४ गएका र भारतबाट नेपालमा १५ हजार ७ सय ४७ जना प्रवेश गरेका छन्। नेपाल प्रवेश गर्नेमध्ये ११ हजार ७ सय ४६ जना यही प्रदेशका बासिन्दा हुन्।

उनले प्रदेशका १४ वटै जिल्लाका विभिन्न ४ सय ५२ स्थानमा १२ हजार २ सय ५५ बेड क्षमताका क्वारेन्टिन सञ्चालनमा रहेको बताए।

उक्त क्वारेन्टिन स्थलहरूमा ४ सय ५८ महिला र १ हजार ८ सय ९१ पुरुष गरी २ हजार ३ सय ४९ जना बसिसकेका छन्। त्यस्तै १ हजार १ सय ३१ महिला र २ हजार ८ सय ४१ पुरुष गरी ३ हजार १ सय ७२ जनालाई मापदण्ड बमोजिमको होम क्वारेन्टिनमा बस्न अनुमति प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell