PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महंगो शूल्क तिरेर साढे १६ हजार नेपाली स्वदेश फर्किए : सरकारको दाबी, 'उद्धार गर्‍यौं'



विधुर ढकाल

महंगो शूल्क तिरेर साढे १६ हजार नेपाली स्वदेश फर्किए : सरकारको दाबी, 'उद्धार गर्‍यौं'

काठमाडौं : शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनका अवधिमा भएका प्रगतिहरु सुनाउन मन्त्रालयमा पत्रकार तथा कर्मचारीलाई भेला गरे। प्रगति प्रतिवेदन सुनाउँदै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरेको घोषण गरे।

भारतबाहेकका मुलुक मंगलवारसम्म साढे १६ हजार बढी नेपाली नेपाल आइपुगेका छन्। रकारले उद्धार गरी ल्याइएको भने पनि नेपाल फर्किएका नेपालीहरुले महंगो हवाइ भाडा तिरेर आएका छन्।

जुन १० गतेदेखि सरकारले विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन चार्टड उडान सुरु गरेको थियो। जुलाई १० सम्म जारी रहने छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जारी गरेको प्रतिवेदनमा ३० जुनसम्म नेपालमा १६ हजार ६७२ नेपाली 'उद्धार' गरेको उल्लेख छ। मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकबाट मार्च २४ देखि ३० जुनसम्म नेपाल वायु सेवा निगमससहितका विमान कम्पनीले २१४ उडानबाट नेपाली स्वदेश फर्काएको प्रतिवेदनमा उल्लेख छ।

यस अवधिमा नेपालमा अलपत्र परेका १२ हजार ४०८ विदेशी स्वदेश फर्किएको प्रतिवेदनमा उल्लेख छ।

यसरी नेपाल फर्किएका नेपालीहरुले लागत मूल्यभन्दा बढी दोहोरो भाडा तिरेर नेपाल फर्किए। नेपाल फर्किएपछि उनीहरुको यात्रा सहज भएन। क्वारेन्टाइनमा बस्दा खाना र बसाई महंगो। स्थानीय तहको क्वारेन्टाइन अव्यवस्थित।

दोहोरो भाडा दिए पनि विमानभित्र तातोपानी पनि खान पाएनन्। चिसो बम पाउरोटी खाएर हजारौं किलोमिटर लामो पट्यारलाग्दो हवाई यात्रा गरेका नेपालीलाई काठमाडौंमा उतारेपछि राखिएको होल्डिङ सेन्टरमा राम्रो खानपानको व्यवस्था नभएको गुनासो फर्किएर आएका नेपालीहरुले सामाजिक सञ्जालमा राख्दै आएका छन्।

तर सरकार, मन्त्रालय तथा मन्त्री स्वयं भट्टराईले भने यसलाई उद्धार गरेको भन्दै प्रतिवेदनको माथिल्लो अंशमा प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।

लकडाउन लागू भएपछि नेपालमा २६१ अन्तर्राष्ट्रिय उडान भएका छन्। जसमध्ये नेपाल वायुसेवा निगमका ९८, हिमालय एअरलायन्सका ६२, बुद्ध एअरका ४ र श्री एअरलाईन्सा ६ गरी नेपाली वायुसेवा निगमहरूले १७० उडान गरेका छन् भने ९१ उडान विदेशी वायु सेवा कम्पनीले गरेका छन्।

चैत ११ गते नेपालमा लकडाउन लागू भएसँगे नेपालका विभिन्न स्थानमा अलपत्र परेका ६११ पर्यटकलाई हेलिकोप्टर तथा विमानबाट उद्धार गरी काठमाडौं ल्याएको र सोही अवधिमा ३३९ जना नेपालीलाई विभन्न स्थानबाट हेलिकोप्टर र फिक्स्ड विङ जहाजबाट उद्धार गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै मन्त्रालयले लकडाउन अवधिमा ८७९ विदेश पर्यटकलाई स्थलमार्गबाट उद्धार। गरेको जनाएको छ।

 

४७ कार्गो उडानबाट ८९१ टन सामाग्री भित्रियो

यसैबीच नेपालमा लकडाउन लागू भएसँगै ४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडान भएका छन्। कोरोना भाइरसको लडाइमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री आयातका लागि मन्त्रालयले विशेष हवाई ढुवानीको व्यवस्था मिलाएको उल्लेख छ।

यसअवधिमा नेपालमा विदेशबाट ४७ अन्तर्राष्ट्रिय कार्गो उडानबाट ८९१ टन कार्गो भित्रिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै सोही अवधिमा ४७२ टन कार्गो बाहिरिएको छ।

 लकडाउन अवधिभर आन्तरिक उडानतर्फ ६१ पटक हेलिकोप्टरबाट, ६१ पटक फिक्स्ड विङ जहाज र ३०५ वटा कार्गो उडान सेवा दिइएकोसमेत उल्लेख छ।

यसअवधिमा युएईमा होटल तालिमको इन्टर्नमा रहेका ११४ नेपाली विद्यार्थीलाई उद्धार गरिएकोसमेत उल्लेख छ।

लकडाउनको अवधिमा ३४ अर्ब बराबरको नोक्सानी

पर्यटन तथा हवाइ क्षेत्रले व्यहोरेको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भनेका छन्।

मन्त्रालयले पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्ड्यन प्राधिकरणबाट अध्ययन कमिटी गठन गरेको थियो। समितिको प्रतिवेदनमा प्रति महिना सरदर १० अर्बको कारोवार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। यस आधारमा चैत ११ गतेदेखि अहिलेसम्म आइ पुग्दा ३४ अर्बको नोक्सान भएको र साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell