PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, 'ड्राइभरले ब्याक गरेर मामालाई…'



पहिलोपोस्ट

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, 'ड्राइभरले ब्याक गरेर मामालाई…'

महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा एक युवकको पानी बोक्ने टिप्परले ठक्कर दिँदा मृत्यु भएको छ।

शुक्रवार बिहान पुनर्वास नगरपालिका १ स्थित हुलाकी राजमार्गमा सामेल तामाङले चलाएको पानी बोक्ने टिप्परले ठक्कर दिँदा पुनर्वास ७ निवासी योगेन्द्रसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ठकुरी से१क ६४२८ नम्बरको मोटरसाइकलमा ११ वर्षीय भान्जा प्रवीन तामाङलाई लिएर बेलौरीतर्फ जाँदै थिए। ठक्कर दिँदा ठकुरी सडकमा खसेका थिए भने पछाडि बसेका भाञ्जा प्रवीन सडक बाहिर खसेका थिए।

‘ब्याक गरेर मार्‍यो‘

सामान्य घाइते भएका प्रवीनले टिप्परले ठक्कर दिएपछि ब्याक गरेर मामालाई किचेको बताए। ‘मामा बाइक चलाउँदै हुनुहुन्थ्यो। म पछाडि बसेको थिए। एक्कासी टिप्परले ठक्कर दियो,’ प्रवीनले भने, ‘म सडक बाहिर ढले। चालकले ब्याक गरेर मामालाई दलेर मारिदियो।’

आफू पनि सडकमै लडेको भए आफूलाई पनि ब्याक गरेर मार्ने थियो भन्दै उनी आक्रोशित भए।

स्थानीयले जलाए टिप्पर

ब्याक गरेर मारेको भन्दै स्थानीय आक्रोशमा आए। उनीहरुले ब्याक गरेर किचेको भन्दै ठक्कर दिने टिप्पर त जलाए नै। घटनापछि आएका थप दुई टिप्पर पनि जलाइदिएका छन्। अन्य टिप्परमा बा १ क ९७८४ र बा १ क ६९३६ नम्बरका रहेका छन्। ब्याक गरेर मारेको भन्दै स्थानीयले नाराबाजी गरेका छन्। 

चालकमाथि ज्यान मुद्दा चलाउन माग गरेका छन्। सिद्धार्थ युवा क्लबका अध्यक्ष जितराज तामाङले घटना दुर्घटना नभई हत्या भएको दाबी गर्दै ज्यान मुद्दा नचलाए आन्दोलन गर्ने चेतावनी दिए। परिवारले पनि शव उठाउन मानेको छैन।

चालक फरार

घटनापछि ठक्कर दिने टिपरका चालक फरार भएका छन्। फरार रहेका चालकको खोजी कार्य भइरहेको पुनर्वास प्रहरी इन्चार्ज वकिलबहादुर सिंहले बताए। अहिले स्थानीयले सडक अवरुद्ध पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell