काठमाडौं : सरकारले विदेशबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। विदेशबाट आउने तथा संक्रमित क्षेत्रबाट आएकालाई २१ दिन क्वारेन्टाइन अनिवार्य गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यसअघि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको थियो।
‘विदेशबाट स्थल तथा हवाई मार्गमार्फत आई क्वारेन्टाइनमा बस्नेले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाउने, २१ दिन क्वारेन्टाइनमा बस्ने,’ गौतमले भने।
यसअघि सरकारले दुई हप्तासम्म क्वारेन्टाइन बसेका तथा लक्षण नदेखिएका व्यक्तिलाई घर पठाउन सकिने व्यवस्था गरेको थियो। सरकारले क्वारेन्टाइन बेड भरिन थालेपछि होम क्वारेन्टाइनमा बस्न सकिने व्यवस्था गरेको छ।
अहिले विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या उच्च छ। हालसम्म ३५ हजार ४ सय ७२ जना क्वारेन्टाइनमा छन्। २ लाख २६ हजार ९ सय ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो।
नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ छ। २४ घण्टामा ४ हजार ४ सय ८३ को पीसीआर गरिएको थियो। देशभर मृतकको संख्या ३२ छ।
