काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन्।
शुक्रवार विभिन्न ९ पर्यटन व्यवसायी संगठनहरुको माग तथा सुझाव बुझ्दै मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गरे। उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन व्यवसायीलाई आग्रह गरे।
मन्त्री भट्टराईले भने, ‘तपाईहरु स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताव लिएर आउनुहोस्, म सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने कोसिस गर्नेछु।’
पर्यटन व्यवसायीहरुले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै मन्त्री भट्टराईसँग लकडाउन खुलाउन माग गरेका छन्।
माग पत्रमा व्यसायीहरुले चार्टर फ्लाइटहरुको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशिघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिका अनुसार सञ्चालन गर्न माग गरको छन्।
त्यस्तै, हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनको लागि अनुमति दिन र हिमाल सफाईको कार्यहरु सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरु तत्काल शुरु गर्न माग समेत गरको छन्।
माग पत्र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स, ऐजेन्ट, सोसाईटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिएसन नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, टुरिस्ट बस एसोसिएसन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी संघले अध्यक्षले सामूहिक रुपमा माग तथा सुझाव दिएका हुन्।
