PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनियरविरुद्ध मुद्दा



रासस

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनियरविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनियर भरतराज आचार्यविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो। आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१ असोज १२ मा अस्थायी रुपमा प्रवेश गरेको र २०४३ असार ३१ गते ओभरसियर पदमा स्थायी नियुक्ति लिएको पाइएको छ।

आयोगले २०६४ वैशाख १ गते इञ्जिनियरमा पदोन्नति भएका आचार्य सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको पाइएको छ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ। आयोगले २०७६ जेठसम्म गरेको अनुसन्धानका क्रममा आचार्यले दुई करोड सात लाख ७९ हजार ९८६ रुपैयाँ बराबरको सम्पत्ति वैधरुपमा आर्जन गरेको देखिएको जनाएको छ।

यस्तै, पाँच करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। आयको तुलनामा खर्च बढी भएको पाइएकाले तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको सम्पत्तिको वैध आय स्रोत देखिएको छैन।

आयोगले आचार्यको श्रीमती रितादेवी खनाल आचार्यको नाममा समेत राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरेको छ। आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारबाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै, आयोगले शुक्रवार नै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले एक सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोग लागेको छ। आयोगले बिगोअनुसारको कारबाहीको माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell