PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेकपामा आज : पार्टीको संकट मोचनका लागि लिइएको ‘वान डे ब्रेक’ मा के-के भए गतिविधि?



कुञ्जरमणि भट्टराई

नेकपामा आज : पार्टीको संकट मोचनका लागि लिइएको ‘वान डे ब्रेक’ मा के-के भए गतिविधि?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आज दिनभरजसो दौडधुपमा व्यस्त रहे। पार्टी एकता टुंगोमा पुग्न नपाउँदै फूटको संघारमा पुगेको निश्कर्ष निकाल्दै स्थायी कमिटी बैठक रोकेर नै नेताहरु परामर्शमा जुटेका हुन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिना नै बसेको बिहीवारको स्थायी कमिटी बैठकले पार्टी एकतालाई बचाउने अन्तिम कसरतका लागि दुई अध्यक्षले वार्ता गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको थियो।

बिहीवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट आइपरेको उल्लेख गर्दै रक्षा गर्न छलफलको आवश्यकता रहेकाले एक दिनको 'ब्रेक' दिइएको बताएका थिए।

बिहीवार अन्यौलताका बीच केही समय बसेर बैठक शनिवारसम्मका लागि स्थगित गरिएको थियो।

दोस्रो तहका नेताको सक्रियता 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्पन्न संकट टार्नका लागि दोस्रो तहका नेताहरु बिहानैदेखि सक्रिय भए।

कृषिमन्त्री घनश्याम भुसालको क्वाटरमा मन्त्रीहरु योगेश भट्टराई, वर्षमान पुन, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताहरु भेला भए। बिहान ८ देखि सुरु भएको छलफल करिब ३ घण्टा चल्यो। उक्त बैठकले नेताहरुले संवादबाट नै समाधान खोज्नुपर्ने धारणा बनायो।

दोस्रो तहका नेताहरुले पार्टीलाई जोगाउनका लागि एकताका बेला भएको सहमतिलाई अघि बढाउनुपर्नेमा जोड दिए। एमाले र माओवादबीच एकता हुँदा भएको ५ बुँदे सहमति र २०७६ मंसिर ४ मा भएको सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिने उनीहरुको निष्कर्ष थियो।

दुई अध्यक्षबीच ३ घण्टा लामो छलफल 

नेकपाका अध्यक्षद्वयबीच बालुवाटारमा ३ घण्टा लामो छलफल चल्यो। ओली र प्रचण्डबीच साढे ११ बजेबाट छलफल शुरु भएको थियो।

छलफलमा नेकपा एमाले र माओवादीबीच पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका नेताद्वय महासचिव विष्णु पौडेल र जनार्दशन शर्मा पनि साक्षी बसे। पार्टी एकताका बेला २०७५ जेठ २ गते ५ बुँदे सहमति भएको थियो।

शिर्ष नेतृत्वबीच भएको छलफलले ठोस निष्कर्ष निकाल्न सकेन। यद्यपि, सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताइयो। 

एक नेताका अनुसार नेकपाको भावी मार्गचित्र तय गर्ने रुपमा नेताहरुले व्याख्या गरेको सो भेट सकारात्मक दिशामा अघि बढेको बताइन्छ।

त्यस्तै शनिवार स्थायी कमिटी शुरु हुनुअघि दुई अध्यक्ष पुन: वार्तामा बस्ने सहमति भएको छ।

पार्टी फुटाउन पाइदैन भन्दै धुम्वाराहीमा धर्ना 

बालुवाटारमा दुई अध्यक्ष वार्तामा बसिरहेका बेला पार्टी मुख्यालय धुम्बाराहीमा दोस्रो तहका केही नेताहरु भेला भए। पार्टीलाई फुटबाट जोगाउनुपर्ने माग गर्दै विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रविन कोइराला, भास्कर काफ्ले, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत ४० भन्दा बढी नेताहरु धर्नामा बसे। 

उनीहरु दिउँसो १ बजेबाट बेलुकी ४ बजेसम्म धर्नामा बसेका थिए। धर्नामा बसेकाहरुले पार्टीभन्दा व्यक्ति ठूलो नहुने भन्दै विधान अनुसार पार्टी संचालन हुनुपर्नेमा जोड दिए।

पार्टी विधि सम्वत ढंगले चल्नुपर्ने, पार्टीको बैठकबाट भाग्न नहुने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने उनीहरुको माग थियो। धर्नामा सहभागीहरुको प्लेकार्डमा लेखिएको थियो 'कम्युनिस्ट पार्टीको नीति प्रधान हो, नेता प्रधान होइन।’

नेता ठाकुर गैरेले पार्टी विभाजन हुने त्रासले चिन्तित बनाएको भन्दै एकताबद्ध भएर अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गर्नका लागि धर्नामा बसेको बताए।

‘पार्टीको आन्तरिक जीवनमा गम्भीर समस्या उत्पन्न भएको छ। देशभर पार्टी विभाजन हुने त होइन भन्ने त्रास फैलिएको छ। कार्यकर्ता पंक्ति र नेकपालाई माया गर्ने जनसमुदाय चिन्तित अवस्थामा छ’, गैरे भन्छन्, ‘पार्टी विभाजित हुनुपर्ने कुनै कारण छैन। न त नेकपामा सैदान्तिक असहमति छ। दृष्टिकोण, सैद्धान्तिक, वैचारिक हिसाबले विमति पनि छैन। पार्टी विभाजन केका लागि?’

विधि र प्रणालीबाट छलफल गर्दै पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ थियो। 

असार १० गतेदेखी जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित नेकपाका शीर्ष नेताहरुले ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए। ओलीले विगतमा गरेका सम्झौता तोडेको र पार्टीलाई आफू अनुकुल चलाउने प्रयास गरेको उनीहरुको बुझाइ छ।  तर, ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्। नेकपाभित्रको आन्तिरिक द्वन्द गम्भीर मोडमा पुगेको बेलामा यो स्थायी कमिटी बैठकबाट एउटा निष्कर्षमा पुग्न सकिने नेताहरु विश्वास लिएका छन्। तर बालुवाटारमा नै बसेको बैठकमा प्रधानमन्त्री उपस्थिति नहुँदा भने कमिटी सदस्यहरु नै अन्यौलमा देखिएका छन्।

बिहीवार बालुवाटारमा एकातिर स्थायी कमिटी बैठक बसिरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरे। सहमति बिना नै ओलीले अधिवेशन अन्त्य गरेपछि पार्टी फुटाउने अध्यादेश ल्याउने तयारी गरेकोको झस्को नेताहरुमा पसेको छ।

त्यही कुराको सुँइको पाएपछि बैठक रोकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास नै पुगेका थिए। राष्ट्रपतिले त्यस्तो तयारी नरहेको जानकारी प्रचण्डलाई दिएकी थिइन्।

यद्यपि, शितल निवासको भनाइलाई सहजै स्वीकार गर्ने पक्षमा नेताहरु थिएनन्। एकपटक ल्याइसकेको विधेयक फेरि ब्युँतिन सक्ने र त्यसबाट नेकपाको भविष्य नै खतरामा पर्ने सक्ने भन्दै नेताहरु छलफल गर्नुपर्ने निष्कर्षमा पुगेका थिए। पार्टी फुटेमा जनतालाई बुझाउन गाह्रो हुने भन्दै शनिवार बिहानै देखि दोस्रो तहका नेतादेखि शिर्ष तहका नेताहरु छलफलमा जुटे। तर शनिवारका लागि ओली पक्ष र प्रचण्ड नेपाल समूहको आआफ्नो अडान कायमै छ। सबैको नजर शनिवारको स्थायी कमिटी बैठकमा नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell