काठमाडौं: गत वर्ष माघ १० गते नेपालमा कोभिड १९ बाट संक्रमित पहिलो व्यक्तिको पहिचान भयो। चीनको वुहानमा अध्ययनरत ३२ वर्षीय पुरुषमा काठमाडौं फर्किएपछि भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यस बेलासम्म कोरोना भाइरसले चीनमा कहर मच्चाउन सुरु गरिसकेको थियो। नेपालमा भने कोरोना रोक्न तयारी शून्य थियो।
चैत पहिला साता भने कोरोनाको त्रास मानिसको अनुहारमा देखिन सुरु भयो। नभन्दै काठमाडौं सुनसान बन्न समय लागेन। व्यस्त रहने काठमाडौं दशैंमा झै सुनसान बनाउँदै मानिस गाउँघरतिर लागे।
यसबीच नेपाललाई कोरोना मुक्त राष्ट्र बनाउनेदेखि पर्यटक आकर्षित गर्न सक्ने हब बनाउने घोषणा समेत भए। तर कोरोनाको ग्राफ रोकिएन। दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमण बढ्दै गयो।
चैत १० गते नेपालमा फ्रान्सबाट आएकी युवतीमा कोभिड १९ पोजेटिभ देखिएसँगै चैत ११ गते बाट सरकारले लकडाउन घोषणा गर्यो। त्यसपछि संक्रमितको संख्या रोकिएन।
असार १९ गतेसम्म देशभर १५ हजार २ सय ५९ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन्। ३२ जनाको त मृत्यु नै भइसक्यो।
एकातिर संक्रमितको संख्या बढ्दो छ। अर्कोतिर लकडाउन खुकुलो हुँदै गएको छ। सरकारले मापदण्ड, कार्यविधि जे जति बनाए पनि त्यो कागजमा सीमित भएका छ्न्। जोर-बिजोरमा सवारी चलाउने भनेको पनि ट्राफिकको छड्केमा सीमित भएको छ। बजारमा पुग्दा नागरिकले पनि कोरोना भन्ने बिर्सिसकेको भान हुन्छ।
देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खाली भएको काठमाडौं फेरि भरिँदै गएको छ। औपचारिक रुपमा लकडाउन अन्त्य हुनुअघि जनजीवन करिब सामान्य जस्तो भइसक्यो।
लकडाउन हुनुअघि जुन सतर्कता अपनाइएको देखिन्थ्यो खुकुलो भएसँगै काठमाडौंमा सतर्कता देखिँदैन।
बजारमा भीड। सडकमा भीड। रेष्टुराँमा भीड। चिया पसलमा भीड। सरकारविरुद्ध र समर्थनमा भीड। मास्क लगाउन पनि काठमाडौं बासीलाई अल्छी लागिसक्यो। भौतिक दूरी त सपनाको कुरा भइसक्यो।
काठमाडौंमा स्थानीय संक्रमण देखिए पनि त्यसको आधार तय गर्न सकिएको छैन। लकडाउन अघि र बीचमा काठमाडौं छाड्नेहरु धमाधम काठमाडौं भित्रिरहेका छन्। संक्रमण धेरै भएका जिल्लाबाट मानिस निर्वाध रुपमा काठमाडौं प्रवेश गरिरहँदा न त उनीहरुको लेखाजोखा गरिएको छ न त परीक्षण नै। जनदबाबमा कुनै आधार र मोडालिटी बिना खोलिएको काठमाडौंलाई कत्तै अर्को नरैनापुर त बनाउँदैन भन्ने प्रश्न उब्जेको छ।
बिहीबारमात्रै काठमाडौंमा २८ जना संक्रमित थपिए। भक्तपुर र ललितपुरमा समेत २-२ जना गरी उपत्यकामा पहिलोपटक ३२ जनामा संक्रमण देखियो। यति धेरै संख्यामा संक्रमित थपिँदा जनजीवन हेर्दा कोरोना ‘नर्मल’ भइसक्यो।
पछिल्ला केही दिनयता उपत्यकामा तीन विषयमा निकै समानता छ। संक्रमित थपिने गति, आंशिक लकडाउनको खुकुलो जवजीवन र सत्ता दौडधुपको रफ्तार करिब उस्तै छन्।
उपत्यकामा देखिएका अधिकांश केसहरुको स्रोत पत्ता लगाउन सकिएको छैन। अहिले त काठमाडौंमा संक्रमित भएकाहरुको विवरण समेत सार्वजनिक गरिएको छैन। उपत्यकाबाहिर नगएर र टोलबाटै बाहिर ननिसकिएका व्यक्तिमा समेत कोरोना देखिएको छ।
यस्तो अवस्थामा संक्रमण समुदायस्तरमा फैलिन सक्ने डर रहने जनस्वास्थ्यविज्ञले बताउँदै आएका छन्। तर विज्ञहरुको कुरा कसले सुन्ने यहाँ। यहाँ त प्रधानमन्त्रीदेखि नागरिक सबै कोरोना एक्सपर्ट भइसके। ‘कोरोना लागे पनि केही हुन्न निको भइन्छ’ भन्ने जमात छ। त्यस जमातलाई आड दिएका छन् प्रधानमन्त्रीले। उनको बोली सुन्ने हो भने त रुघाखोकी हो कोरोना। तातोपानी र बेसार खाएर 'हाच्छिउँ-साच्छिउँ' गर्दैमा सकिन्छ। नागरिक भने सतर्क हुनु साटो ठ्ट्टामा रमाउँदैछन्।
विदेशमा कोरोनालाई ठट्टाका रुपमा लिएकै कारण भयावह स्थिति सिर्जना भएको थियो। लकडाउनको समयमा काठमाडौं उपत्यकामा धेरै संक्रमित नदेखिनुको कारण मानिसहरुको चहलपहल कम हुनु मुख्य थियो। तर ‘लुज लकडाउन’ सँगै संक्रमण भित्रिन सक्ने सम्भावना पनि प्रसस्तै छ।
कोरोनाबाट मुक्त भएको घोषणा गरेका देशमा समेत कोरोनाको दोस्रो लहर देखिएको छ। त्यसैले बढ्दो संक्रमण र मानिसहरुको आवतजावतसँगै उपत्यकामा संक्रमण समुदायस्तरमा फैलिन सक्ने चेतावनी सरोकारवालाहरुले दिएका छन्। यसको समाधान नागरिकको दैनिकीमा बाधा नपुग्ने गरी लकडाउन व्यवस्थित नै हो।
कोरोनाको संक्रमण रोक्ने उपाय कोही सँग छैन। त्यस्तै लकडाउनको बहानामा घरभित्रै बस्नुमात्रै उपयुक्त पनि छैन। त्यसैले अधिकांश देशहरुले सतर्कता अपनाउँदै लकडाउन खुकुलो पार्दै गइरहेका छन्। तर उनीहरुले पीसीआर परीक्षणको दायरा घटाएका छैनन्। तर हाम्रोमा भने पीसीआर परीक्षणको संख्या निकै कम हुनु र सडकमा मानिसहरुको भीड बिना कुनै सावधानी बढ्दै जानुले संक्रमणको खतरा बढ्दै गएको देखिन्छ।
वैज्ञानिकहरुका अनुसार हाल पहिले भनिएझै कोभिड १९ लक्षण नदेखिए पनि संक्रमित भइरहेका छन्। नेपालमा पनि अधिकांश लक्षणविहीन संक्रमित छन्। उपत्यकामा पनि धेरैजसो संक्रमितमा कुनै लक्षण देखिएको छैन। अहिले कोरोना ‘साइलेन्ट स्प्रिडर’ का रुपमा फैलिरहेको बताइन्छ। यस्तो अवस्थामा लकडाउनभित्र थुनिएर बसेका भीडमा मिसिँदा संक्रमणको खतरा बढी हुन्छ। त्यसैले ‘लुज लकडाउन’मा जनजीवनलाई सामान्य बनाउने प्रयासमा कोरोनालाई बिर्सने भूल भने हामीले गर्नुहुँदैन।