नयाँ दिल्ली : शुक्रवार एकै दिन २३ हजार ५ सय भन्दा धेरै नयाँ संक्रमित थपिँदा भारत कोभिड १९ को संकटमा थप फस्दै गएको छ। यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो।
बिहीवार २२ हजारभन्दा धेरै संक्रमित भेटिएको थियो भारतमा। दुई दिनमा ४५ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएपछि भारत अमेरिका र ब्राजिल पछि सबैभन्दा धेरै संक्रमण प्रभावित मुलुक बन्ने लाइनमा छ। मृत्यु हुने संक्रमितको संख्यामा पनि भारतको रफ्तार जारी छ। शुक्रवारमात्र ४ सय ४६ जना संक्रमितको मृत्यु हुँदा भारतमा कोभिड १९ का कारण मर्नेको संख्या १८ हजार ६ सय ६२ पुगेको छ।
शुक्रवार थपिएका संक्रमितको संख्यासँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४९ हजार ७ सय ८ पुगेको छ। भारतले दुई दिन अघिमात्रै ६ लाखको सीमा पार गरेको थियो। भारतमा कोरोनाको रिकभरी रेट पनि ६० प्रतिशतभन्दा माथि उक्लिएको छ। किनकि ३ लाख ९३ हजार मानिसलाई कोरोना बिसेक भइसकेको छ।
भारतको महाराष्ट्रमा हिजो एकै दिन ६ हजार ३ सय ६४ जनामा संक्रमण देखियो। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा हिजो एकै दिन ९ सय ७२ जना संक्रमित थपिएका छन्। वंगालमा पनि ६ सय ६९ जना संक्रमित थपिए। दक्षिण भारतीय राज्यहरुमा पनि संक्रमितको संख्यामा उछाल आएको छ।
कोरोना संक्रमितको संख्या १ लाख नाघ्नेमा तामिल नाडू भारतको दोस्रो राज्य बनेको छ। शुक्रवार त्यहाँ ४ हजार ३ सय २९ जनामा संक्रमण देखिएको हो। राजधानी दिल्ली पनि एकलाख नजिक पुगिसकेको छ। हिजो त्यहाँ २ हजार ५ सय २० जनामा संक्रमण भेटियो। यससँगै दिल्लीमा संक्रमितको संख्या ९४ हजार ६ सय पार भएको छ।
