PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

गाडीका साहुको उजुरीपछि पुष्टि भयो त्रिशुलीमा खसेको स्करपियो थियो



रासस

गाडीका साहुको उजुरीपछि पुष्टि भयो त्रिशुलीमा खसेको स्करपियो थियो

चितवन : त्रिशुली नदीमा गाडी खसेको प्रत्यक्षदर्शीले बताए पनि खोज्दा नभेटिएपछि समस्यामा परेको प्रहरीसामु गाडी धनीले नै उजुरी दिएपछि निर्क्यौल भएको छ – गाडी दुर्घटनामा परेकै हो।

नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीवार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदन अनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो। घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए। त्यसको केही बेरपछि फोन सम्पर्कविहीन भएको थियो।

खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्क विहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए। गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रवार निवेदन दिएको प्रहरीले जनाएको छ।

सो गाडी खसेको स्थानीय सुनमाया चेपाङले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि जीप हालसम्म भेटिएको छैन। गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ। घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ। गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell