कैलालीमा : धनगढीमा दुबईबाट आएका एक युवकमा कोरोना पुष्टि भएको छ। होम क्वारेन्टाइनमा बसेका युवकमा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। उनी (असार ७) २१ जुनमा दुबईबाट फर्किएका हुन्।
धनगढीमा भएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। एक दिन काठमाडौं राखेर उनलाई दोस्रो दिन धनगढी पठाइएको थियो। धनगढी आएपछि उनलाई ९ दिन नवदुर्गा माविको क्वोन्टाइनमा राखिएको थियो।
आरडीटी नेगेटिभ देखाएपछि उनी घर फर्किएका थिए। उनले अहिले घरमै सतर्कता अपनाएर बसिरहेको जानकारी दिए। यसअघि सुदूरपश्चिमका पहिलो सङ्क्रमितको रूपमा धनगढी ५ का युवकमा कोरोना देखिएको थियो। उनले कोरोना जितिसकेका छन्।
उनीसहित सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रादेशिक प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको हो। उनीहरूमध्ये चार जना महिला र छ जना पुरुष रहेको श्रेष्ठले जानकारी दिए जसमा कञ्चनपुरका चार, डोटीका तीन, कैलाली, बैतडी र अछामका एक/एक जना रहेका छन्।