PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने पनि नेकपाका युवा नेताको जुटमै जोड



कुञ्जरमणि भट्टराई

ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने पनि नेकपाका युवा नेताको जुटमै जोड

काठमाडौं : यतिखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू पार्टी एकता भत्किने त्रासमा छन्। नेकपाको पछिल्लो विवादले पार्टी फुटको दिशातिर गएको संकेत पनि गर्छ। फुट नै नभए पनि पार्टीको कलह गम्भीर मोडमा भने पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति एक्कासी मन्त्रीहरुलाई डाकेर आफ्नो कित्ता कता हो क्लियर हुन भनेपछि नेकपा दुर्घटनाको संघारमा छ।

पार्टीमा संकट पैदा भएको भन्दै समाधानको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने पनि सुझाव रहँदै आएको छ। त्यसैको असर हो अहिलेको गुत्थी सुल्झाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइनु। तर, सोचेअनुसार प्रगति नहुनुले चाहिँ नेता तथा कार्यकर्ताबीच चिड्चिड्याहट बढाइरहेको छ। नेकपाबाट सोसल मिडियामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी प्रस्ट धार देखिन थालेको छ। आरोप र प्रत्यारोपको श्रृङ्खला जारी छ।

एकता प्रक्रिया टुंग्याउन नपाउँदै फुटतर्फ उन्मुख भएको उल्लेख गर्दै अधिकांश नेताहरूले त्यसबाट जोगाउन खबरदारी पनि गरिरहेका छन्।

दोस्रो तहका नेताहरू पनि आफ्नो आफ्नो ठाउँबाट सक्रियता बढाउन थालेका छन्। पूर्व एमाले र पूर्व माओवादीका युवापुस्ताका नेतामा चिनिएकाहरुलाई फरक फरक गुटमै सहि एकै ठाउँमा जोडिरहेको छ अहिले।

नेकपाका केन्द्रीय कमिटीका केही नेताहरू शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीमा पुगेर पार्टी नफुटाउन दबाव दिँदै धर्नामा बसे। शनिवार पनि त्यसले निरन्तरता पाइरह्यो।

पार्टी विभाजन स्वीकार्य नभएको भन्दै उनीहरू नेतृत्वलाई सहमतिको विन्दु खोज्न घच्घच्याइरहेका छन् अहिले।

पार्टी विभाजनको ‍औचित्य पुष्टि गर्ने कारण नै नरहेको बताउँछन् नेताहरु। शीर्ष तह जिम्मेवार बनेर अघि बढ्नुपर्ने उनीहरुको मत छ।

पार्टी विभाजनको औचित्य पुष्टि हुने कारण छैन

'अहिले पार्टी विभाजन हुनुपर्ने कारण छैन। पार्टी विभाजनको आवश्यकता र औचित्य पुष्टि हुने कारण पनि देखिँदैन,' पार्टी फुट जोगाउने अभियानमा जुटेका नेकपा नेता ठाकुर गैरे भन्छन्, 'तर, पनि पार्टी विभाजनको एक खालको स्थिति पैदा भएको छ। पार्टीलाई फुटाउने होइन् जुटाउनुपर्छ। यसका लागि नेताहरू जिम्मेवार बनिदिनुपर्‍यो।'

तत्कालीन एमाले र माओवादी एकताको मुख्य जस पाउने नेताहरूले नै अपजसको भारी बोक्नु पर्ने भएकाले त्यसतर्फ ध्यान पुर्‍याउन उनले आग्रह गरे।

ओली र प्रचण्डमा कसले पार्टी फुटको अपजस बोक्ने?

'एकताको मुख्य जस अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पाउनुभयो। पार्टी फुट्यो भने अपजस पनि उहाँहरूले नै बोक्नुपर्छ। एकताको जस लिएर सम्मानित ठाउँमा बस्नुपर्ने अवस्थामा पार्टी फुटको अपजस किन लिने?,' उनको प्रश्न छ।

गैरे पार्टीलाई सकुसल रुपमा नेतृत्वले दोस्रो र तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्नेतर्फ ध्यान जानुपर्ने बताउँछन्। त्यसो त शीर्ष तहले तत्काल नयाँ पुस्तामा पार्टीको नेतृत्व दिनुपर्ने तक नउठेको होइन। तर, पद आशक्ति नेपालका सबै राजनीतिक दलमा उत्तिकै देखिन्छ। नेकपा यसमा अछुतो कसरी होवस्? प्रधानमन्त्री केपी शर्मा ओली देखि अर्का अध्यक्ष पुष्पकमल दाहाल हुन् या बाँकी सचिवालय सदस्य, पदोलोलुपताबाट टाढा छैनन्।

'उहाँहरूले नै भन्दै आउनुभएको छ। हामीले पार्टीमा लामो समय दु:ख गर्‍यौं। गणतन्त्र स्थापना, संविधान निर्माण, पार्टी एकतासम्म आइपुग्यौं। अनि पार्टी एकताको जस लिएर सकुशल पार्टी पुस्ता हस्तान्तरण गर्ने कुरातर्फ उहाँहरूको ध्यान जानुपर्दैन?,' उनले प्रश्न गरे।

समस्याको मुख्य जड : नेतृत्वको हठ

गैरे सहमतिबाटै अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि पार्टी अनिर्णयको बन्दी हुन नहुने तर्क गर्छन्।

'बैठकमा छलफल बहस हुनुपर्‍यो। पार्टीमा विधि प्रक्रिया छन्। सर्वसम्मत भएन भने बहुमतले निर्णय गर्ने बाटोमा जानुपर्‍यो। सहमतिका नाममा अनिर्णयको बन्दी बनाउनु पनि भएन। अनि पार्टीको निर्णय नमान्ने पनि गर्न हुँदैन,' उनले भने।

उनको पुस्ताका नेताहरु विभाजनको भयबाट त्रसित छन्। त्यसैले फुट स्वीकार्य नहुने बताएका छन्।

'विभाजन स्वीकार्य छैन। नेताहरूले कतिपय कुरामा त्याग गर्नुपर्‍यो। व्यक्तिका आकांक्षा, चाहना कति पूरा भए या भएनन् भन्नेतर्फ जानुभएन,' उनले भने, 'पार्टी देश र जनताका लागि बनाइएको भन्ने स्मरण गर्नुपर्दछ।'

गैरे अहिलेको समस्याको मुख्य जड नेताहरूको हठ रहेको बताउँछन्।

'समस्या नेतृत्व तहमा भएका नेताहरूको हठ हो। समाधानका लागि नेतृत्वले हठ त्याग्नुपर्छ,' उनले भने।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक आजका लागि पनि बोलाइएको थियो।
पार्टीमा आइपरेको संकट समाधानका लागि दुई अध्यक्षले शुक्रवार वार्ता गरे पनि निकास निस्किन सकेन। बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ। अध्यक्षद्वय आ-आफ्नै अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell