PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुरु पूर्णिमामा कराते प्रशिक्षक दीपकको अनुभव, 'गुरुलाई प्रेसर बढी हुनेरहेछ'



मुकुन्द घिमिरे

गुरु पूर्णिमामा कराते प्रशिक्षक दीपकको अनुभव, 'गुरुलाई प्रेसर बढी हुनेरहेछ'

प्रत्येक बिहान ८ बजे। सातदोबाटोस्थित करातेको कभर्ट हलमा दैनिक अभ्यास सुरु हुन्छ। तर, आइतवार समय घर्किँदा पनि अभ्यासको सुरसार थिएन।

साढे आठतिर करातेका प्रशिक्षक दीपक श्रेष्ठ कभर्ड हलमा आइपुगे। उनीहरु त्यहाँ पुग्दा ओलम्पिकको तयारीमा जुटेका खेलाडीहरु अनु अधिकारी र नवीन रसाइली त्यहीँ थिए।

अगाडि एउटा टेबल थियो। टेबलमा फूल, माला, अबिर, मिठाइ थियो। र, त्यसको ठीक पछाडि थियो दुईवटा कुर्सी। प्रशिक्षकहरु पुग्दा खेलाडीले आफ्नो हिसाबले अभिवादन गरे र कुर्सीमा बस्न भने।

आज गुरु पूर्णिमा। त्यसैले आज अभ्यास थिएन। आज त खेलाडीहरुले गुरु पूर्णिमा मनाए। गुरुहरुलाई धन्यवाद दिए।

गुरु बन्दा...

नेपाली कराँतेमा खेलाडीका रुपमा दीपक श्रेष्ठ सफल मानिन्छन्। तर अहिले उनी खेलाडीका रुपमा नभएर गुरुका रुपमा छन्।

'गुरु हुन खेलाडी हुन भन्दा अलि चुनौतीपूर्ण नै छ। खेलाडी हुँदा आफूले आफ्नो मात्र हेर्दा पुग्ने, गुरु हुँदा चाहीँ समग्र सबै खेलाडीहरुको दायित्व आफूले लिनुपर्ने हुन्छ,' उनले भने, 'अहिले त कोच कोचमात्र होइन। कोचले धेरै भूमिका निभाउनु पर्ने हुन्छ। प्रेसर पनि त्यतिकै हुन्छ। खेलाडीको सफल होस भन्ने हुन्छ तर असफल भए भने कोचलाई नै अलि बढी प्रेसर हुन्छ।'

समग्रमा खेलाडी बन्दाभन्दा कोचबन्दा प्रेसर बढी हुने उनले अनुभव गरेका छन्।

गुरु पूर्णिमाबारे

गुरु पूर्णिमा मनाउन बिहानै सातदोबाटो पुगेका नवीन रसाइली र अनु अधिकारी उत्साहित थिए।

'आज त हामी महत्वपूर्ण दिन हो नि,' अधिकारी भन्दै थिइन्, 'हामी आमा बाबुपछिको गुरु मान्छौं। ट्रेनिङका स्किलहरुमा मात्र नभएर कति व्यवाहारिक पक्षहरु पनि सिकाइरहनु भएको हुन्छ।'

अनुशासनदेखि खाने, विभिन्न क्रियाकलामा गुरुको सहयोग अपरिहार्य हुने उनले महसुस गरेकी छिन्।

'आफ्नो जीवन नै खेलकुदमा हामीलाई सिकाउन भनेर बिताउनु भएका गुरुहरुलाई नमन गर्न चाहन्छु,' उनले भनिन्।

नवीनले पनि गुरुपूर्णिमा मनाइसकेपछि भने : हात समातेर यहाँसम्म ल्याउने गुरुहरुलाई धेरै धेरै धन्यवाद। र, गुरु पूर्णिमाको शुभकामना।

फर्किएको अभ्यासबारे

'अभ्यास सुरु गरेको एक हप्ता भयो। कोभिड महामारीलाई ध्यानमा राखेर अभ्यास गरिरहेका छौं। मास्क लगाएर ट्रेनिङ गर्न सम्भव भएन,' श्रेष्ठले ट्रेनिङबारे भने, 'थुक नउछिट्टिओस भनेर भाइजर चाहीँ लगाएर गरिरहेका छौं।'

ट्रेनिङका क्रममा मास्क लगाउँदा सास फेर्न अफ्ठ्यारो भएकाले भाइजर लगाएको उनले बताए। त्यस्तै अभ्यासको क्रममा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने गरिरहे पनि हल चाहीँ स्यानिटाइज भइनसकेको बताए। अहिले ओलम्पिकको तयारिमा रहेका खेलाडीहरुको अभ्यास चलिरहेको छ।

'ओलम्पिक सरेको छ। यो हाम्रो लागि अवसर बन्न सक्छ। खेलाडीहरु घरमा बसेर ट्रेनिङ गर्दा त्यति प्रभावकारी नबनेकाले ट्रेनिङ सुरु गराइएको हो।'

लामो समय पछि ट्रेनिङमा फर्कँदा खेलाडीहरुको लयमा फरक परेको श्रेष्ठले अनुभव गरेका छन्।

'खेलाडीको प्रदर्शनमा लकडाउनले धेरै प्रभाव पारेको छ। नवीनले बिचमा अभ्यास गरेकोले अलि फर्ममै छ। अनुको चाहीँ फर्ममा आउन अलि समय लाग्ला' उनले भने।

श्रेष्ठको अनुभवसँगै मिल्ने अनुभव छ खेलाडी अनु अधिकारीको पनि। लामो समय राम्ररी अभ्यास गर्न नपाउँदा प्रदर्शनमा प्रभाव परेको उनी स्वीकार्छिन्। र, प्रतिकुल समयकोबीच पनि अभ्यासको वातावरण मिलाउनु राम्रो भएको उनी बताउँछिन्।

'अहिले यहाँ आएर ट्रेनिङ गर्न पाउँदा अझै केही गर्नुपर्छ र पहिलाको भन्दा डबल मेहेनत गर्नुपर्छ भन्ने चाहीँ महसुस गरेका छौं,' अनुले भनिन्, 'यो ग्यापले वेटदेखि लिएर पहिलाको फर्म, स्पीरिटमा असर पुर्‍याएको छ। मेन्टल्ली पनि प्रभाव परेकै थियो। अभ्यास सुरु भएपछि एउटा आशा पलाएको छ।'

यद्यपि पहिलाको जस्तो फर्ममा आउन समय नलाग्ने अधिकारीको विश्वास छ।

यता नवीनको अनुभव भने फरक छ। लकडाउनको एकमहिना घरमै रहे पनि उनले त्यसपछि भने सुरक्षामा ध्यान दिँदै बालाजुमा अभ्यास सुरु गरे। जसले गर्दा उनको फर्म धेरै बिग्रिन पाएन।

'धेरैपछि अभ्यासमा फर्किएका छौं। एकदमै खुशी लागिरहेको छ,' उनले भने, 'कराँते त स्पिड गेम भन्छ। लामो समय ग्याप हुँदा त्यसमा असर पर्ने भन्ने डर त छँदै थियो। अब यता अभ्यास सुरु भएपछि धेरै राम्रो लागि रहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell