PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सत्ताको सौदाबाजीमै सकिए ओली : न सरकार चल्यो, न पार्टी नै



विधुर ढकाल

सत्ताको सौदाबाजीमै सकिए ओली : न सरकार चल्यो, न पार्टी नै

काठमाडौं : उचाईमा पुग्नु र त्यहाँ टिक्नु फरक हुन्। जति माथि पुगिन्छ त्यति नै गतिमा तलतिर बज्रिने सम्भावना हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा यो अरु नेतामा भन्दा बढी नै लागू हुन्छ। यतिखेर ओलीको राजनीतिक ग्राफ लगातार तलतिर नुगिरहेको छ। आफ्ना अकर्मण्य र कमजोरीलाई राष्ट्रवादको पगरीले जति गुथ्न खोजे पनि उनी असफल भइरहेका छन्। ओलीको असफलता मुलुकको राजनीतिका लागि अर्को दु:खद् घटना बन्दैछ।

नेपालको राजनीतिक शब्दकोषमा कमजोर शब्द हो - स्थिरता। विकासको गति र जनतामा प्रवाह हुने सेवा यसैका अस्थिरताकै कारण भएन भन्ने आम बुझाइ हो। त्यसैले जनताको अभिमत स्थिर सरकारका लागि तय भइरहेको थियो। जनताको यही अभिमतको बलमा चमकदार नेताका रुपमा ओलीको उदय भयो। महाकाली सन्धिले ओलीको राष्ट्रवादी हैसियतालाई समाप्त पारेको थियो। तर, नयाँ संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएर ओलीको खातामा कहिल्यै नरहेको राष्ट्रवादको पगरी गुथ्ने काम भयो। प्रधानमन्त्रीमा सुशील कोइराला नै थिए, जतिखेर भारतले नाकाबन्दी लगाएको थियो। कोइरालालाई विस्थापित गरेर प्रधानमन्त्री बनेका ओलीको भागमा पनि भारतीय नाकाबन्दीको संकट कायमै थियो। भारतीय हस्तक्षेपकारी भूमिका ओलीको राजनीतिक उदयका लागि एउटा महत्वपूर्ण घटना बन्न पुग्यो। त्यसैका आडमा महाकाली सम्झौतामा गुमेको राष्ट्रवादको आत्मा प्रधानमन्त्री ओलीमा प्रवेश गर्‍यो। एकाएक उनी नामुद् राष्ट्रवादी बन्न पुगे। नाकाबन्दी गरेर नेपाल गलाउने भारतीय रणनीति असफल बन्दै गयो र त्यसको श्रेय केपी ओलीको काँधमा थपियो।

अर्कातिर सत्ता गठबन्धनका खेलहरु भने जारी रहे। राजनीतिक अस्थिरताका प्रकरणहरु जोडिइरहे। कहिले प्रचण्ड राजनीतिको मियो बने त कहिले शेरबहादुर देउवा। कमल थापादेखि विजय गच्छदार र उपेन्द्र यादवहरुको हालिमुहाली पनि चलिरह्यो यही बीच। सरकारहरु चलिरहे पनि जनअपेक्षामाथि तुषारापात पनि भइरहे। त्यसैले एउटा स्थिर सरकारको खोजीमा जनमत बनिरह्यो। त्यो जनमतमा ओलीप्रति एकखाले आकर्षण थियो। त्यसैले खिच्यो पुष्पकमल दाहाल प्रचण्डलाई। नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग सत्तामा रहँदारहँदै ओली नेतृत्वमा समाहित हुन पुग्यो। त्यसले स्थिर राजनीतिको अपेक्षा गरेर बसिरहेका जनतामा एकखाले हौसला प्रदान गर्‍यो। जसरी पहिलो संविधानसभामा हतियार बिसाएर चुनावी मैदानमा उत्रिएको माओवादीप्रति जनताले अभिमत दिए, त्यसरी नै ओली - प्रचण्डको एकतालाई साथ दिए। तीनै तहका निर्वाचनले मुलुकको जिम्मेवारी हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सुम्पियो। प्रधानमन्त्री बने केपी शर्मा ओली। यहाँसम्म आइपुग्दा केपी शर्मा ओलीको राजनीतिक ग्राफ उधोमात्र लागिरह्यो। मानिसहरुमा ब्यग्रता थियो, ओली नेतृत्वमा मुलुकले नयाँ दिशा लिनेमा।

त्यसै पनि ओलीले रेल, पानी जहाज, मेट्रो र घरघरमा ग्यासका पाइप पुर्‍याउने कथा हालेका थिए। हावाबाट बिजुली निकाल्नेदेखि समृद्ध नेपाल बनाउन भन्दै उनले देखाएका सपनाहरु नेपालीका लागि सिनेमा सिनहरुमात्र थिए। त्यसले कसलाई नलोभ्याओस्। जनताको उभार सहितको जितले ओलीलाई राजनीतिको सबैभन्दा उच्च शिखरमा पुर्‍यायो। तर, क्रमश: सत्ताको नशाले ओलीलाई मत्याउँदै लग्यो। जनताले देखेका समृद्धिका थ्रिडी एनिमेटेड सपनाहरुमा बिस्तारै खिया पर्न थाल्यो। ओली पनि उखानतिरै अलमलिन थाले। त्यहीबाट ओलीको चमकमा क्रमश दागहरु देखिन थाले। ती दागहरु विभिन्न नाममा अवतरण गरिरहे -यती समूहदेखि अहिलेको ओम्नी समूहसम्म। सरकार प्रमुखका रुपमा ओली जति असफल भए त्यति नै सफल रहे आफ्नाहरुको रक्षा गर्ने विषयमा। अनि मुलुकले आर्थिक समृद्धितिर गति लिन नसके पनि होनहार कविका रुपमा प्रधानमन्त्रीको पहिचान बन्न थाल्यो। कतिपय नाटकीय प्लटहरुपनि ओलीकै कार्यकालमा देखियो। उनले आफ्ना मन्त्रीहरुसँग कामको सम्झौता गरे। मन्त्रीहरुले सचिवसँग। अनि मन्त्रीहरुको रिपोर्ट कार्डका आधारमा उनीहरुको ग्रेडिङ गरिने पनि बताइयो। उनको मन्त्रिपरिषदका अब्बल मन्त्रीहरुले आफ्नो कामको रिपोर्ट कार्ड पेश गरिरहे। तर, ओली आफैँ असफल भइसकेका थिए - उनले अरुको रिपोर्ट कार्डको मूल्याङ्कन किन गर्न सक्थे? गोकर्ण विष्टहरुलाई मन्त्रीबाट निकालेर आफ्ना भक्तहरुलाई पद थमौतीको खेल अरु कसैले सुरु गरेको थिएन। उनका यिनै गतिविधिले सुस्त गतिमा जनअपेक्षाको घाँटी निमोठिँदै थियो।

यसबीच उनको प्रचण्डसँगको सरकारको नेतृत्व आधाआधा गर्ने सहमति भत्कियो। सायद्, त्यो सहमतिअनुसार ओलीले नेतृत्व हस्तान्तरण गरेका भए - प्रचण्ड बद्नाम हुने थिए, ओलीको जयजयकार कायमै रहन्थ्यो। तर, सत्ताको राग ओलीमा यसरी पसिसकेको थियो कि उनी कसैलाई पनि सहने पक्षमा थिएनन्। तत्कालीन संघीय समाजवादी पार्टीका उपेन्द्र यादवको लज्जास्पद बहिर्गमनले ओली सहमतिमा आधारित राजनीतिका खेलाडी होइनन् भन्ने देखायो। उनी बलिया खेलाडी त बनिरहे तर हरेक पल उनले फाउल खेलिरहे।

कोरोनापछि सुरु भएको लकडाउनले मानिस आकुल व्याकुल भए। त्यतिखेर सत्ताकै मस्तीमा झुमिरहे ओली। सडकमा हिँड्ने मानिसलाई गाली गर्दैमा उनको दिनचर्या बित्यो। सरकारको कामको आलोचना गर्नसाथ मिडियामाथि खनिनु उनको दैनिकी बन्न थाल्यो। सीमामा आएर अलपत्र पर्दै देश छिर्न गुहार लगाउनेहरु ओलीको आँखामा उछृङ्खल भए। तिनै जनताको आशाको केन्द्रमा रहेका ओलीले लगातार उनीहरुलाई दुत्कारिरहे।

त्यही बीचमा हो उनले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएको - प्रतिशोध साध्न। सत्ताबाट बाहिरिएको उपेन्द्र यादवको पार्टी फुटाउन उनले सांसद अपहरण नै गराउनसम्म लागिपरे। अरु सबै सहिरहेका नेकपाका नेता तथा कार्यकर्ता यस प्रकरणसम्म आइपुग्दा भने नराम्ररी झस्किए। बलियो बहुमतसहितको सरकारको नेतृत्व गरिरहेका ओली यति निकृष्ट कसरी बन्न पुगे? तल्लो तहसम्म ओलीको नियतमाथि प्रश्न हुन थाल्यो। उनीमाथि पार्टीभित्रका नेताले पनि औला ठड्याउन सुरु गरे। कोरोनाको कहरमा क्वारेन्टाइनहरुको हालत मिडियामा छरपस्ट भइरहे। पीडामा रहेका जनताका कथाहरु छताछुल्ल भइरहे। सबैतिरबाट ओली असफल भइरहँदा एकाएक उनको उद्धारको आधार बन्यो - लिम्पियाधुरा। भारतले सडक उद्घाटन गरेपछिमात्र ओलीले यसबारे जानकारी पाए झै गरेर - राष्ट्रवादको अर्को तुरुप फ्याँके। स्वभाविक हो - आफ्नो भूमि कसैले अतिक्रमण गर्छ भने सहन्छ कसले? राष्ट्रवादभन्दा पनि यो ओलीको अक्षमता ढाक्नका लागि गतिलो हतियार बन्यो। जसरी महाकाली सन्धिको बदनामी छुपाउन भारतीय नाकाबन्दीको समय लिएको अडानले काम गरेको थियो, यसपाला त्यो पुनरावृत्ति भयो। नयाँ नक्सा र त्यसलाई समेटेर बनाइएको निशान चिन्हको विषयमा कुनै विवाद भएन। सबै दल सहमत भए। संविधान संशोधन भयो। ओलीकै नेतृत्वमा यति सबै भइरहँदा पनि उनमा जागेको अहमताले शिखरमा पुगेको राजनीतिक कदलाई फेरि तलतिर झार्न सुरु गरेको छ। सत्ता जोगाउन यतिखेर उनी 'जे पनि गरेन तयार' हुने अवस्थामा पुगेका छन्। राष्ट्रपतिलाई पनि उनले तानेर पार्टीगत राजनीतिमा ल्याइरहेका छन्।

सत्ता र पार्टी दुवै संचालनमा चरम असफलता भोगिरहेका छन् ओली। पार्टी प्रणालीलाई 'बाइपास' गर्नु उनका लागि सामान्य बनिसकेको छ। अरुको आलोचना गरेर आफ्नो हैसियत अग्ल्याउने उनको प्रवृत्ति 'अनुहारको दाग, सिसा पुछेर मेट्न खोजे झै' देखिन्छ। क्रमश: एक्लिँदै गएका उनमा जागेको महत्वकांक्षाहरु भने डरलाग्दो देखिँदै छ। त्यसले ओलीलाई क्षति त गर्छ नै, उनकै दल र त्यो भन्दा बढी समग्र मुलुकलाई संकटतिर धकेल्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell