PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

ओलीको समर्थनमा उत्रिएका युवाहरुको यस्तो छ अन्तरकथा



कमलराज भट्ट

ओलीको समर्थनमा उत्रिएका युवाहरुको यस्तो छ अन्तरकथा

काठमाडौं : असार १८ गते बिहीवार युवाहरूले माइतीघर मण्डलामा सरकारको समर्थनमा प्रदर्शन गरे। अरुबेला सरकारको समर्थनमा हजारौको संख्यामा भिड हुने गरेकोमा यसपालि भने मुस्किलले सय जनामात्र थिए।

उनीहरूले नेपालको राष्ट्रिय झण्डा र ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरकार’ भन्ने नारा र ‘सपोर्ट पीएम केपी ओली’ ह्यासट्याग भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर बोकेका थिए।

‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ भन्ने नारा लगाए।

स्वतस्फूर्त भनिएको प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका नेता वकिल बम अंग्रपक्तिमा थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।

‘प्रधानमन्त्रीको पद होइन राष्ट्र र राष्ट्रिय भूमि जोगाउन हामी निस्वार्थ सडकमा आएका हौं। राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा छिमेकी र देशभित्रैबाट पद धरापमा पारिएको छ,' प्रदर्शनबारे बमले भने, 'त्यसविरुद्ध हामीले सडक रोज्यौं। हाम्रा नेताले फोहोरी खेल खेल्नुहुन्न भनेर सडकमा उत्रेका हौं। सरकारलाई काम गर्ने वातावरण बनाउन सबै जनता निस्वार्थ रुपमा सडकमा आउनुपर्छ।’

आफूहरूलाई प्रधानमन्त्री वा अन्य कुनै नेताले सडकमा जान निर्देशन नदिएको र राष्ट्र र राष्ट्रियताको पक्षमा आफूहरू स्वस्फूर्त सडकमा आएको उनको दावी छ।

सुरुवातमै भद्रगोल

बमले प्रदर्शनमा युवाहरू स्वस्फूर्त रुपमा आएको दावी गरे पनि सुरुवाती प्रदर्शन फितलो थियो। प्रदर्शनको तयारी राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेल, किरण पौडेल र रमेश आचार्यहरूको संयोजनमा भएको थियो। उनीहरू सबै ओली निकट भक्तपुरका सांसद एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत समूहका हुन्। प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थीहरू पनि सहभागी थिए।

प्रदर्शनमा सहभागी एक सदस्यका अनुसार संयोजन गर्ने नेताहरू नै प्रदर्शनमा देखिएनन्। ‘जसले संयोजन गरेको हो उहाँहरू नै आउनुभएन। संख्या थौरै भएको र नेताहरू पनि उपस्थित नहुँदा हाम्रो मनोबल कमजोर भयो। कार्यक्रम खासै प्रभावकारी भएन। हामीले उल्टै गाली खानुपर्‍यो,’ अनेरास्ववियुमा आवद्ध एक नेताले सुनाए।

प्रदर्शन कार्यक्रम भद्रगोल हुनुको अर्को कारण भनेको पूर्व माओवादी र एमालेभित्रैको नेपाल समूहसँग समन्वय नहुनु रह्यो। पार्टीभित्र राष्ट्रिय युवा संघको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ छन्। तर, उनलाई नै प्रदर्शन कार्यक्रमबारे जानकारी थिएन। प्रदर्शन कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका कुनै नेता कार्यकर्ता सहभागी थिएनन्। जसका कारण कार्यक्रम फितलो भयो। उपस्थिति पनि कमजोर रह्यो।

प्रधानमन्त्रीसँग मिटिङ

माइतीघर मण्डलामा प्रदर्शन गरेकै दिन राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारी निवास बालुवाटारमा भेट गरेका थिए। युवा संघका सह संयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा २० जना जति युवा र विद्यार्थीहरू बालुवाटार पुगेका थिए। भेटमा सहभागी एक नेताका अनुसार ओलीले आफूविरुद्ध पार्टीभित्र र बाहिर षड्यन्त्र भएको भन्दै देशव्यापी सडक प्रदर्शन गर्न युवाहरूलाई निर्देशन दिएका थिए।

पार्टीमा आफूलाई पेलेर लगियो भने दल फुट्न सक्ने स्थिति पनि आउनसक्ने भन्दै ओलीले यसमा भारतीय चलखेल रहेको कुरा युवाहरूसँग दोहोर्‍याएका थिए। पार्टी फुट्न नदिन सडकबाट पनि दबाब बढाउनुपर्नेमा उनको जोड थियो।

‘मलाई चारैतिरबाट घेर्ने काम भयो। पार्टी एक बनाइराख्न तपाईँहरू लाग्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले भने। ओलीको निर्देशन अनुसार युवा विद्यार्थीले सरकारको समर्थनमा काठमाडौं, पोखरासहित देशभर प्रदर्शनका कार्यक्रम गरिरहेका छन्।

बैठकमा सहभागी अनेरास्ववियुका बौद्धिक नेता रश्मी आचार्यले भने बैठकमा प्रधानमन्त्री ओलीले पार्टी एकताबारे कुरा गरेको बताए। आफू पहिले नै निस्किएकाले बाँकी कुरा के भयो भन्नेबारे आफूलाई जानकारी नभएको आचार्यको भनाई छ। संकटका बेला सरकार परिवर्तन गर्न नहुने र कमीकमजोरी भए सच्याएर अगाडि बढ्नुपर्ने धारणा आफूहरूको रहेको आचार्यले बताए।

दीपशिखा भन्छन्: प्रदर्शन अराजनीतिक कदम

राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ सरकारको समर्थनमा भएको प्रदर्शनप्रति असन्तुष्ट छन्। वाइसीएलका पूर्वअध्यक्ष रहेका उनी प्रदर्शन कार्यक्रमलाई गैरजिम्मेवार र अराजनीतिक कदम भन्छन्।

‘लकडाउन छ। कोरोनाको संक्रमण बढ्दो छ। यस्तो बेला सत्तापक्ष जिम्मेवार बन्नुपर्नेमा यो गैरजिम्मेवारपना हो। यसले न सत्ता जोगिन्छ। न प्राप्त हुन्छ। जनतालाई उत्तेजित बनाउने मेलोमात्रै हो,’ उनले भने, ‘प्रतिपक्षले हटाउने भनेको पनि होइन। प्रधानमन्त्रीले पद छोड्नुपर्छ भनी पार्टीभित्र छलफल भइरहेको विषयलाई सडकमा ल्याउनु अनैतिक, अराजनीतिक र अनुचित कदम हो।’

संयोजक दीपशिखाले प्रदर्शन कार्यक्रमबारे आफूसँग समन्वय नै नभएको बताए। कारवाहीबारे उनले भने, ‘अहिले कसलाई कसले कारवाही गर्ने?’

युवा संघका पूर्व अध्यक्ष राजीव पहारीले सरकारको समर्थनमा युवाहरू सडकमा आउनु स्वभाविक भए पनि कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्ने कुरामा ख्याल गर्नुपर्ने बताए।

‘संकटका बेला सरकार फेर्ने कुरा गर्नु भएन। काम गर्न दिनुपर्छ,’ उनले भने, ‘जहाँसम्म युवाहरू स्वतस्फूर्त सडकमा आएको कुरा छ, त्यो स्वभाविक हो।’

पछिल्लो समय नेकपामा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्। पार्टीभित्रबाट समेत प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न माग उठेको बेला युवाहरू सडक प्रदर्शनमा उत्रिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell