PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेलम्चीको सुरुङमार्ग परीक्षण शुरु, खोला डाइभर्ट गरी यसरी पठाइयो पानी



दिनेश खड्का

मेलम्चीको सुरुङमार्ग परीक्षण शुरु, खोला डाइभर्ट गरी यसरी पठाइयो पानी

काठमाडौं : मेलम्ची खानेपानी आयोजना 'माइलस्टोन' मानिएको सुरुङमार्गको परीक्षण सुरु भएको छ।

आइतवार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाका प्रमुख इन्जिनियर तिरेशप्रसाद खत्रीले बताए। उनका अनुसार अस्थायी संरचनाबाट मेलम्ची खोलाको पानी डाइभर्ट गरेर सुरुङमार्गतिर पठाउन सुरु गरिएको हो।

आयोजना साइट इन्जिनियर शेखर खनालले सुरुङमार्गको ८ सय मिटर परीक्षण थालेको बताए। उनका अनुसार आज जिरो चेनेजबाट ८ सय मिटर सुरुङमार्ग भरेर अडिट टनेलमार्फत पानी पुनः मेलम्ची खोलामा पठाउन लागिएको हो। 'भोलिबाट उक्त अडिट टनेल बन्द गरेपछि सुरुङमार्गतिर पानी जानेछ,' उनले भने। पहिलो अडिट टनेलमा फ्लसिङ सिस्टम पनि छ। त्यसैलाई प्रयोग गरेर पानी मेलम्ची खोलामा नै फर्काइएको छ।

टनेलका गेटहरु परीक्षण र संचालन गर्ने अपरेटिङ सिस्टम तयार भएसँगै सुरुङमार्गको परीक्षण सुरु गरिएको हो। 'सबै संरचना तयार भएसँगै हामीले परीक्षण सुरु गरेका हौं,' आयोजना प्रमुख खत्रीले भने, 'दुइ महिनाजतिमा सुरुङमार्ग परीक्षण हुन्छ।'

उनका अनुसार विस्तारै पानी हाले पुरै सरुङमार्ग भरिने छ। सुन्दरीजल र सबै अडिट टनेलका गेटहरु बन्द गरेर सुरुङमार्ग भरिनेछ। यसका लागि करिब २० दिन लाग्ने अनुमान गरिएको छ।

पानी भरिएपछि एक सातासम्म त्यसलाई राखिनेछ। सुरुङमार्गमा कहीँ कतै केही समस्या हुन सक्छ भनेर पानी भरेर राख्न लागिएको हो। त्यसपछि पुनः विस्तारै सुरुङमार्गको पानी फ्लस गरिने छ। यसका लागि पनि २० दिन लाग्ने अनुमान गरिएको छ।

'फ्लस सकेपछि कहीँ कतै समस्या भए रिपेयर हुन्छ। नभए सुरुङमार्ग पानी हाल्न तयार हुनेछ। त्यसपछि हामी मेलम्चीको पानी काठमाडौंका लागि नियमित पथान्तरण सुरु गर्छौं,' उनले भने।

मेलम्ची आयोजनाको सुरुङमार्ग परीक्षण: पानी पठाउन सुरु

Posted by Bizmandu.com on Sunday, July 5, 2020

तत्कालका लागि सुरुङमार्गमा अस्थायी संरचना 'कफर ड्याम' बाट पानी हालेर परीक्षण गर्न सुरु गरिएको हो। स्थायी हेडवर्क्स निर्माणका लागि पानी डाइभर्ट गर्न कफर ड्याम बनाइएको थियो। स्थायी हेडवर्क्स बनाएर पानी ल्याउन लागि माघ-फागुन पर्खनुपर्ने भएपछि आयोजनाले तत्कालका लागि यसैलाई प्रयोग गरेर परीक्षण सुरु गरेको हो।

कफर ड्याममा त्यस्तो देखिने स्ट्रक्चर केही छैन। ड्यामले मेलम्ची खोलामा बगेको पानीलाई ब्लक गरेको छ। उक्त पानी १ नम्बर गेटबाट डाइभर्सन टनेल हुँदै ९ नम्बर गेटमार्फत बाहिर निकालिएको थियो। अहिले ९ नम्बर गेट बन्द गरिएसँगै पानी सुरुङमार्गतिर बगेको छ। डाइभर्सन टनेलको मुखमा ट्रस र्‍याक राखिएको छ। जसले पातपतिंगर, काठका टुक्रा र ठुला ढुंगाहरु रोक्छ।

अस्थायी संरचनामा पानी छान्ने मेसिन छैन। सोही कारण उक्त मेसिन रहनेभन्दा माथितिरको भागबाट डिआइ पाइपमार्फत तत्कालका लागि पानी पठाइएको छ। गेट नम्बर ९ मा पनि बालुवा र गिटी छान्नका लागि केही होचो भाग बनाइएको छ। जसमा बालुवा र गिटी फस्छ, पानी सुरुङमार्गतिर बग्छ।

'आयोजनाले अहिले वर्क-आउट गरेको पनि अस्थायी संरचनाकै लागि हो,' मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने, 'तत्काल यहीँबाट पानी पथान्तरण सुरु गरिएको छ। स्थायी संरचना बनेपछि त्यसबाट हुनेछ।'

अस्थायी हेडवर्क्सको तलतिर स्थायी संरचना निर्माण भइरहेको छ। माघसम्ममा यो संरचना तयार पार्ने लक्ष्य छ। जसको ६० प्रतिशत हाराहारी प्रगति रहेको बताइएको छ।

इटालियन कम्पनीले छाडेर गएपछि चिनियाँ सिनो हाइड्रो कर्पोरेसनले ठेक्का पाएर मेलम्चीमा पुनः निर्माण थालेको हो। कम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको निर्माणको दुइवटा ठेक्का पाएको छ। सुरुङमार्ग फिनिसिङ सेप्टेम्बरसम्म र हेडवर्क्स डिसेम्बरसम्म सक्ने गरी ठेक्का पाएको हो। कम्पनीले आफूले पाएको समयावधि पहिले नै संरचना तयार पारेको हो। हेडवर्क्समा कम्पनीले काम गरिरहेको छ।

लकडाउनमा अरु आयोजनाको काम रोकिएको भए पनि मेलम्ची खानेपानी आयोजनामा रोकिएको थिएन। करिब डेढ सय जना प्राविधिक र कामदार साइटमा रहेर निरन्तर काम गरिरहेका थिए। लकडाउन नभएको भए दुई महिना पहिले नै परीक्षण हुने खत्रीले दाबी गरे। लकडाउनका बीच दौडधुप र निरन्तर काम गरेर यो सफलता मिलेको उनले बताए। सुरुङमार्ग परीक्षण भएसँगै दुइ दशकदेखिको राजधानीवासीको मेलम्ची सपना पूरा हुन लागेको उनले बताए।

पहिलो चरणमा मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ। दोस्रो चरणमा याङग्री र लार्के खोलाको १७/१७ करोड लिटर गरी कुल ५१ करोड लिटर पानी ल्याउन योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell