PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेशमा कोरोनाको संक्रमणबाट थप १३ नेपालीको मृत्यु, हालसम्म देशबाहिर १४३ जनाले गुमाए ज्यान



रासस

विदेशमा कोरोनाको संक्रमणबाट थप १३ नेपालीको मृत्यु, हालसम्म देशबाहिर १४३ जनाले गुमाए ज्यान

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप ६, भारतमा ५, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो।

समितिका अनुसार शनिवार साँझसम्म विभिन्न १४ देशमा कुल १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ। शनिवार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन्। एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।

यसैबीच, कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन शुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ। एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ।

अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यान्मार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell