PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ४४ जिल्लामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा ४४ जिल्लामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४४ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २७ जनासहित देश भरका ४४ जिल्लामा २९३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ७१० जनाको नमुना परीक्षण भएको छ।

संक्रमितमध्ये कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा झापाका २, प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा पाँचथरका १, ताप्लेजुङ र मोरङका २/२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा धनुषाका २७, सिराहाका १ तथा नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा अर्घाखाँचीका १, बैतडीका ३, कैलालीका १४, कपिलबस्तुका १, काठमाडौंका ५ र नुवाकोटका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नुवाकोटका १, रौतहटका २, सल्यानका १, सर्लाहीका ६ जनामा पनि टेकुमै भएको परीक्षणमा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुरका १ र किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा रौतहटका २७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

वीर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका १ तथा त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमै काठमाडौंका २१ जनामा समेत संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमै भएको परीक्षणमा भक्तपुरका १ र ललितपुरका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्रिविमै भएको परीक्षणमा अर्घाखाँचीका २, बाँकेका १, बर्दियाका १, नुवाकोटका १, सर्लाहीका १, रामेछापका २, सिन्धुपाल्चोकका २, इलामका १, म्याग्दीका १ र धादिङका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा बाग्लुङका १ र तनहुँका २ तथा पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा कास्कीका २ लमजुङ र गोरखाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वानस्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका, कपिलवस्तु, र नवलपरासी पश्चिममा १/१ जना तथा प्युठानमा ११ र रुपन्देहीका २ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा सल्यानका १५, दैलेखका २, सुर्खेतका १०, स्याङ्जाका १ र बर्दियाका ४ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर ल्याब दैलेखमा दैलेखका ५ र सुर्खेतका २ जनामा संक्रमण पुष्टि भएको छ। नयाँ थपिएको प्रयोगशाला चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका ४ जनामा संक्रमण पुष्टि हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुराका २० जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशाला प्रयोगशालामा भएको परीक्षणमा डडेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा अछामका १, बैतडीका १, डडेलधुराका ६, डोटीका ३, कैलालीका १३ र कञ्चनपुरका ३२ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा १५ हजार ७८४ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये ६ हजार ५४७ जना डिस्चार्ज भएका छन्।

प्रदेशगत संक्रमण

 

हालसम्म संक्रमण पुष्टि भएका मध्येप्रदेश २ मा चार हजार १६० जनामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितमध्ये २ हजार ३४ जना डिस्चार्ज भएका छन्। प्रदेश ५ मा तीन हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ हजार ७२५ जना डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या तीन हजार ६७८ छ भने डिस्चार्ज हुने ६८० जना मात्र छन्।

कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ५७९ हुँदा त्यहाँ एक हजार १९१ जना डिस्चार्ज भइसकेका छन्। गण्डकी प्रदेशमा एक हजार १४२ जना संक्रमित भएका छन्। यहाँ २३४ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा ६९४ जना कुल संक्रमितमध्ये ४६९ जना डिस्चार्ज भइसकेका छन्। वाग्मती प्रदेशमा सबैभन्दा कम ५६३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २३४ जना डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell