PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

महानिरीक्षक खनालको मातहतका कमाण्डरलाई निर्देशन : राष्ट्र र जनताप्रतिको जिम्मेवारी पूरा गर्नू



पहिलोपोस्ट

महानिरीक्षक खनालको मातहतका कमाण्डरलाई निर्देशन : राष्ट्र र जनताप्रतिको जिम्मेवारी पूरा गर्नू

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र जनताको हितमा कार्य गर्न मातहतका कमाण्डरलाई निर्देशन दिएका छन्। आइतवार हलचोकस्थित प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृत तथा उपत्यकामा कार्यरत कमाण्डरहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले राष्ट्र¸ जनता र संगठनको अहितमा काम गर्ने छुट कसैलाई नभएको बताए।

संगठन स्थापना कालको स्मरण गराउँदै महानिरीक्षक खनालले संगठनका सयौं कर्मचारीको बलिदानबाट प्राप्त सफलतालाई व्यक्तिगत स्वार्थ र हितमा प्रयोग नगर्न निर्देशन दिए। संगठनको अनर्गल प्रचार गर्न केही व्यक्ति संलग्न भएको तर्फ इंगित गर्दै महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगर्नेले संगठनसँग जोडिएर बस्नुको कुनै अर्थ नहुने बताउँदै राष्ट्र र जनताप्रतिको कर्तव्य सत्‍विचारका साथ सत्कर्ममा लागि सत्‍मार्गमा हिँडेर सत्‍धर्म निभाउन निर्देशन दिए।

उनले कर्मचारीहरुको वृद्धिविकासलाई ध्यानमा राखी कुनै पनि कर्मचारीलाई अन्याय हुन नदिने दृढता व्यक्त गरे। उनले संगठन भित्रको समस्या आपसी छलफलबाट नै समाधान हुने भएकोले स्वार्थपूर्ण ढंगले वाह्‍य दबाब दिन खोजे स्वीकार्य नहुने समेत स्पष्ट पारे।

उनले भने, ‘नेतृत्वलाई संगठनको चिन्ता छ¸ संगठनले मुलुकको प्रत्येक चुनौतीलाई सामना गर्दै अघि बढिरहेको छ। त्यसैले प्रत्येक कर्मचारीले प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई अनुशासित व्यवसायिक र इमानदारिता पूर्वक सही ढंगले पूरा गर्नुपर्छ।’

महानिरीक्षक खनालले व्यक्तिले गरेको बद्‍नामीको भार संगठनले बोक्न बाध्य नहुने बताए। संगठनले गरेका कामको मुल्यांकन र जनताको संगठनप्रतिको भरोसालाई अछ्युण राखी आगामी दिनमा चुस्त दूरुस्त र मानव अधिकार, भ्रष्टाचार एवं लैंगिक हिंसामा सुन्य सहनिशलताको नीतिप्रति दृढ भएर लाग्ने बताउँदै महानिरीक्षक खनालले म होईन हामी भनेर सोच्न र राष्ट्र प्रतिको कर्तव्यलाई सम्झी व्यक्तिगत स्वार्थलाई थाति राखेर कार्य गर्न निर्देशन दिए।

महानिरीक्षक खनालले  नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान अभियानलाई पूरा गर्न सशस्त्र प्रहरी बल आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए। उनले अन्य सुरक्षा निकायहरुसँगको सहकार्य र समन्वयमा राष्ट्रले लिएको लक्ष्य पूरा गर्ने कार्यमा सशस्त्र प्रहरी बल देश भरी नै परिचालित रहेको बताए।

कोभिड १९ को महामारी रोकथाममा तराईको सीमादेखि हिमालको सीमासम्म खटिएका राष्ट्र सेवक कर्मचारीहरुको अभिभावकको हैसियतले उच्च मुल्याङ्कन र प्रशंसा गर्दै संगठन प्रमुख खनालले आगामी दिनमा हुन सक्ने महामारीसँगैको विपद्‍सँग लड्न समेत तयार रहन निर्देशन दिए।

सो अवसरमा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले चेन अफ कमाण्डमा चल्न र उच्च अनुशासित भएर कार्य गर्न मातहतलाई आग्रह गरे। कथा बनाएर संगठनको अनर्गल प्रचारले संगठनलाई फाइदा नपुग्ने बताउँदै उनले यसबाट कसैलाई क्षणिक फाइदा पुगे पनि यसले संगठनको अहित गर्ने बताए।

यसैगरी, सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनको नेतृत्व पंति एक ढिक्का भएर अघि बढेकोले आफ्नो जिम्मेवारीमा उच्च दक्षताका साथ लाग्न आग्रह गरे। संगठन प्रमुखको भिजन अनुसार विभागिय प्रमुखहरु समेत एक भएर कार्य गरिरहेको तर बाहिरी हल्लाको कारण गलत सन्देश गएको भन्दै उनले संगठन बनाउन र राम्रो काम गर्न सुझाव दिए।

यस्तै, कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फिल्डमा खटिएका कर्मचारीको उच्च प्रशंसा गर्दै जस्तो सुकै चुनौतीको सामना गर्न र आगामी दिनमा हुन सक्ने विपद्‍को लागि समेत तयारी अवस्थामा रहनु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell