PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

के नेकपा विवादमा गल्दै गएका हुन् ओली?  



कुञ्जरमणि भट्टराई

के नेकपा विवादमा गल्दै गएका हुन् ओली?  

भुसको आगोझैँ सल्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको अवतरण कसरी हुन्छ स्पष्ट छैन। स्थायी समितिभित्रको रस्साकस्सीपछि विवाद समाधानका लागि यति बेला शीर्ष नेताहरू छलफलमा छन्। औपचारिक र अनौपचारिक रूपमा दोस्रो तहका नेताहरू पनि सक्रिय छन्। पार्टीलाई फुटको संघारबाट बचाउन ‘ट्रयाक टु’का रूपमा अनौपचारिक रूपमा विभिन्न प्रस्ताव पनि तयार भइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिनहुँ छलफल भइरहेको छ। दुबै समूह एक-अर्काविरुद्ध ‘माइन्ड गेम’मा पनि उत्तिकै सक्रिय छन्। तर, निकास के हुन्छ अझै स्पष्ट छैन। किनकि दुबै समूह आफ्ना पुराना अडानमा यथावत् छन्। तर, विवाद समाधानका लागि छलफल बन्द भएको छैन। अनि विकल्प पनि अहिलेसम्म टुंगिएको छैन।

विवादकै उत्कर्षबीच स्थायी समिति बैठक स्थगित भइरहेको छ। शीर्ष नेतालाई विवाद समाधानका लागि समय दिने भन्दै बैठक स्थगित हुँदै आएको छ। सोमबार बोलाइएको बैठक बस्ने वा नबस्ने पनि अनौपचारिक कार्यदलभित्रको गृहकार्यमा भर पर्नेछ। 

गल्दैछन् ओली?

आन्तरिक किचलोमा यतिबेला शीर्ष नेताहरू नै रुमल्लिएका छन्। पटक-पटक भएका सहमति तोडिँदा विश्वासको संकट समेत शीर्ष नेतामा देखिएको छ। जसकारण पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीचमा सौहार्दता रूपमा छलफलको वातावरण समेत बनेको छैन। किनकि ओली र प्रचण्डबीच दुई पटकसम्म पार्टी र सत्ता सञ्चालनको सहमति भइसकेको छ। सहमति कार्यान्वयन भएको भने छैन।

शनिबार र आइतबार पनि शीर्ष नेताहरुबीच छलफल भएको छ। नेकपाका शीर्ष नेता र राष्ट्रपतिबीच पनि विमर्श भएको छ। दुई दिनकै भेटघाटमा अध्यक्षद्वयबीच विवाद समाधानको कुनै सूत्र फेला परेको छैन। तर, आइतबारको छलफलपछि भने पार्टी विभाजनसम्मको अवस्थाको मनस्थिति भने शीर्ष नेताबीच टरेको स्रोतको दाबी छ।

आइतबार अध्यक्षद्वयबीच निकै चर्काचर्कीको स्थिति बनेको थियो। राष्ट्रपतिका सम्बन्धमा प्रधानमन्त्रीले अनावश्यक र अनर्गल प्रचार गरेको आरोप प्रचण्डका लगाएका थिए। अविश्वासको प्रस्तावको विषयमा पनि तथ्यहीन कुरा गरेको टिप्पणी ओलीसामु प्रचण्डले गरे। ओलीसँग आक्रोशित रुपमा नै प्रस्तुत प्रचण्डले पटक पटकका सहमति अवमूल्यन भएको र पार्टी फुटाउने षड्यन्त्रमा लागेको आरोप समेत लगाएको स्रोत बताउँछ।

तर, आइतबारको छलफलमा मध्यस्थताको भूमिका निर्वाह गरेका एक स्थायी समिति सदस्यले विवादकै बीचमा अध्यक्षद्वयबीचमा नयाँ सहमतिको सम्भावना बढेको बताए।

‘पार्टीको विवाद कसरी मिलाउने दुई नेताकै जिम्मेवारी हो। आजको बैठकमा निकै चर्काचर्कीपछि अहिले वातावरण सकारात्मक दिशातर्फ उन्मुख छ। दुबै अध्यक्षले गर्नुभएको अनुभूति भनेको पार्टी एक राख्नुपर्छ भन्ने हो। अडान त यथावत् छन् तर थप छलफल र अनौपचारिक गृहकार्यको मार्गप्रसस्त भएको छ। आजको संकेत भनेको पार्टी विभाजनका विषयमा जति परिचर्चा छ नेतृत्व त्यता जाँदैन भन्ने हो’, ती स्थायी समिति सदस्यले भने।

छलफलमा ओली र प्रचण्डका आ–आफ्ना अडान भने यथावत् नै छन्।

के छन् अडान?

प्रचण्डले पार्टी एकीकरणको समयमा पार्टी एकीकरण हुँदादेखि हालसम्म भएका सम्झौता कार्यान्वयन नै आफ्नो बटमलाइन भएको बताएका छन्।

२०७५ जेठ २ मा भएको सहमति अनुसार आलोपालो रूपमा सरकार सञ्चालन समेत छ। अहिले प्रचण्डले उक्त विषयलाई नै प्राथमिकतामा राखेका छन्। तर, आइतबारको छलफलसम्म ओली उक्त सहमति मान्न तयार देखिएका छैनन्। पुरानो सहमति मान्नु परेमा गत मंसिरमा भएको अधिकार बाँडफाँडलाई मानेर जाने ओलीको रणनीति रहेको निकटहरू बताउँछन्।

जेठको सहमति अनुसार अघि बढेमा ओलीले अहिले प्रधानमन्त्री पद छाड्नुपर्ने हुन्छ। मंसिरमा भएको सहमति अनुसार अघि बढेमा ओली प्रधानमन्त्री कायमै रहने र प्रचण्डले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्नेछन्। तर, अब यो सहमतिलाई कुनै पनि स्थितिमा मान्न प्रचण्ड नेपाल समूह तयार नरहेको नेताहरू बताउँछन्। ओलीले प्रधानमन्त्री नछाडे पार्टीको अध्यक्ष छाडेर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने रणनीतिमा प्रचण्ड नेपाल समूह छ।

दुई नेता नै आफ्ना अडानमा टसमस नभए पनि छलफल जारी राख्नेमा भने सहमत छन्। साथै दोस्रो तहका नेता सम्मिलित अनौपचारिक कार्यदलमा विवाद निरूपणका लागि गृहकार्य गर्नेमा पनि दुबै सकारात्मक छन्। जसका लागि चार सदस्यीय अनौपचारिक कार्यदल नै बनेको छ।

तर, यो पटक प्रधानमन्त्री ओलीको आत्मविश्वास यसअघिको तुलनामा कमजोर छ। आफू निकटकै मन्त्री र स्थायी समिति सदस्यहरूले समेत दुई अध्यक्षबीच सहमति हुनुपर्ने सुझाइरहेका छन्। प्रचण्ड-नेपाल समूह कठोर बन्दा ओली गल्दै गएका छन्। पछिल्ला समयमा फालिएका केही कार्ड र ‘माइन्ड गेम’ समेत उपयोगी बन्न नसक्दा प्रधानमन्त्री ओली अफ्ठेरोमा परेका छन्। जसकारण विवाद समाधानका लागि कार्यदल बनाउनेका लागि ओली पनि तयार भएका हुन्।

बन्यो अनौपचारिक कार्यदल

विवाद निरूपणका लागि आइतबारको छलफलले अनौपचारिक रूपमा विवादमा गृहकार्य गर्न चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा ओली समूहबाट पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल छन्। यस्तै, प्रचण्ड निकट रहेका स्थायी समिति सदस्यद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्। पौडेल र शर्मा २०७५ जेठ २ मा भएको सहमतिमा पनि साक्षी हुन्।

अनौपचारिक रूपमा यसअघि पनि गृहकार्य भने भइरहेको छ। जसमा विवादको अग्रपंक्तिमा रहेका शीर्ष नेताको आत्मालोचना, सरकार र पार्टीको काममा अध्यक्षद्वयको स्पष्ट कार्य विभाजन र संयन्त्र निर्माणको प्रस्ताव गरिएको थियो। पार्टी र सरकार सञ्चालन तथा महत्त्वपूर्ण निर्णयमा संयन्त्रले सुझाव दिनेगरी प्रस्ताव गरिएको थियो। संयन्त्रको नेतृत्व शीर्ष नेताले नै गर्ने दोस्रो तहका नेताहरूको प्रस्ताव छ। यस्तै विवाद समाधानका लागि प्रदेशमा शक्ति बाँडफाँड हुन सक्ने सम्भावना पनि छ। प्रदेशमा मुख्यमन्त्री हेरफेरदेखि केन्द्रीय मन्त्रिपरिषद् पनि परिवर्तन गर्ने प्रस्ताव आउन सक्छ। औपचारिक रूपमा यो गृहकार्य अध्यक्षद्वयसम्म प्रस्तावित भने छैन।

तर, आइतबारको छलफलपछि भने नयाँ रूपमा नै सहमति हुन सक्ने दाबी गरिएको छ। हाल प्रधानमन्त्री ओलीको कार्यकाल साढे दुई वर्ष हाराहारीमा भइसकेको छ। प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै तत्काल छाड्न अस्वीकार नै गरेमा ५/६ महिनापछि सरकार फेरिनेगरी सहमति हुन सक्ने एक नेताको दाबी छ। यसरी सहमति भएमा समन्वयका लागि प्रस्तावित संयन्त्रको नेतृत्व वरिष्ठ नेता नेपालले गर्न सक्नेछन्। तर, पार्टीमा ओलीलाई कार्यकारी भूमिका भने दिइने छैन। वरीयता भने यवाथत रहनेगरी विवाद मिल्न सक्छ।

कार्यदलले बनाएको प्रस्तावमा शीर्ष नेताबीच सकारात्मक वातावरण बनेमा सोमबारका लागि बोलाइएको स्थायी समिति पनि स्थगित हुने सम्भावना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell