दार्चुला : सतबाँज–खलंगा सडकलाई प्रेमसिंह धामी मार्ग नामाकरण गर्न चौथो जिल्ला सभाले माग गरेको छ।
कालापानीको विषयलाई राष्ट्रिय मुद्दा बनाइनुपर्ने, कालापानी नेपालको मुटु हो लगायतका आवाजहरु सदनमै उठाउने पहिलो व्यक्तिका रुपमा परिचित राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिंह धामीकै नामबाट सतबाँजदेखि खलंगा सडकको नामांकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सभामा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न चार विभूतिको कैलालीमा पूर्ण कदको शालिक बनाउने निर्णय गरे पनि राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिंह धामीलाई छुटाएको थियो। प्रदेश सरकारले जयपृथ्वी बहादुर सिंह, दशरथ चन्द ठाकुर, भीमदत्त पन्त, पहलमान स्वाँरको कैलाली चोकमा पूर्ण कदको शालिक बनाउने निर्णय गरेको हो। प्रेमसिंह धामीलाई छुटाएको र बिर्सेको भन्दै यसअघि नेकपा दार्चुलाले आपत्ति जनाउदै शालिक निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध समेत गरेको थियो।
साथै चौथो जिल्ला सभाले पनि प्रेमसिंह धामीको शालिक पनि चार विभूतिहरुसंगै निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए। राष्ट्रियताका सवालमा अब्बल र निडर दार्चुलाका वक्ता, राष्ट्रबादी स्वर्गिय नेतालाई कालापानीको विषय विवाद आउँदा सबैले सम्झिने गरेका छन्। पछिल्लो समय सरकारले भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गरेकाले स्वर्गिय नेता धामीको सपना साकार हुने अपेक्षा पनि लिइरहेका छन्।
जिल्ला सभाले नेपाल सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको र तिंकर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको भन्दै सरकारलाई धन्यबाद ज्ञापनसमेत गरेको छ।
