PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

टेकुमा परीक्षण गर्न आउनेको ओइरोले हैरान, गर्न नपर्ने भन्दा मिल्छ धम्की!



रासस

टेकुमा परीक्षण गर्न आउनेको ओइरोले हैरान, गर्न नपर्ने भन्दा मिल्छ धम्की!

  • सञ्चिता घिमिरे -

काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ।

काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए। व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट परीक्षणको विषयमा कुनै निर्देशन नआएको उनको भनाइ छ। उनले भने, 'मन्त्रालयाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ।'

अहिले दैनिक ७ सयदेखि एक हजार ३ सय जनासम्म कोरोना परीक्षणका लागि आउने गर्दछन्। शुक्रवार ९ सय जना परीक्षणका लागि आएको जनाइएको छ।

अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ। भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ। अस्पतालले ट्रेसिङ गरेर आवश्यकको मात्रै परीक्षण गरिरहेको छ। अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ। उच्च जोखिमका मानिसलाई रातो चिन्ह दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। परीक्षण गर्न नपर्ने छन्, उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ।

अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन्। बन्दाबन्दी हुनासाथ काठमाडौँ उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन्।

बन्दाबन्दीमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ। प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ। अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डाक्टर भण्डारीले बताए। उनले भने, 'अदालतबाट आउने सबै जोखिममा नभएकाले हामीले आवश्यकको मात्रै गरिरहेका छौं।'

कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ। अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, ट्राभल हिस्ट्रीको जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ। व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ।

सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको उनले बताए। अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ। उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ। उनले भने, 'परीक्षण गर्नु पर्दैन भनेकाहरु कर्मचारीलाई धम्की दिने गर्छन्।'

दैनिक २ सय ८८ जनाको परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ। अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको उनले जानकारी दिए। सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। यसले यहाँको चाप कम हुने आशा गरिएको छ। उनले भने, 'गर्न सक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन्।'

अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ। परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरिएको छ। उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी नगरेको उनको आरोप छ। सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन। उनले भने, 'एउटा राम्रो क्वारेन्टाइनसमेत व्यवस्था भएको पाइँदैन।'

अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन्। अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष बढाएको थियो। अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ। रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell