PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग 



पहिलोपोस्ट

काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई १० लाख सहयोग 

काठमाडौँ: काठमाडौँ महानरपालिकाले ६ ओटा ए डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा क्लबलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो। मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङदी क्लबले पाएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताए। खेलकुदको विकासका लागि महानगरले क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको उनको भनाइ छ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, संम्पदा संरक्षण, हरियाली प्रर्वद्धनलगायतका क्षेत्रमा काठमाडौँ महानगरपालिकाले काम गर्दै आएको छ,’ उनले भने, ‘सँगै हामीले खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएका छौँ। खेलकुद विकास तथा प्रर्वद्धनका लागि हामीले गरेको यो सानो सहयोग मात्रै हो।’

उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी तपाईँहरुलाई थप सहयोग गर्न चाहन्छौँ।’

महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई १० लाख रुपैया, बी लाई तीन लाख रुपैयाँ र सीलाई २ लाखका दरले सहयोग गर्दै आएको उनको भनाइ छ ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, बी र सी डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ। आज ए लाई गर्यौँ। वि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने छौँ।’ 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरेका थिए।

‘डिभिजन क्लवहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्,’ शेर्पाले भने, ‘यसका लागि काठमााडौँ महानगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छु । अहिले काठमाडौँ उपत्यकामा बढेको घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएका छन्। यस्तो बेलामा हामीले खेल अभ्यासका लागि महानगरपालिकासँग सहकार्य अघि बढाउने कुरामा पनि छलफल गर्दै आएका छौँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell