काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यहरुले बैठकको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेका छन्। बैठकको माग गर्दै हस्ताक्षर गर्न थालिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए।
‘सचिवालय र स्थायी कमिटीहरुले काम गर्न सकेको देखिएन। पार्टी विधान र पद्धति अनुसार चल्नुपर्छ। केन्द्रीय कमिटी बैठक राखेर अहिलेका समस्याको हल गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ न्यौपानेले भने।
अहिलेसम्म १०० भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेको न्यौपानेले जानकारी दिए। संकलित हस्ताक्षर नेतृत्वलई बुझाउने उनले जानकारी दिए।
केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा लगायतले हस्ताक्षर गरेका छन्।
नेकपामा आन्तरिक किचलोका बीच पार्टी विभाजन रोक्न भन्दै उनीहरुले धर्नालाई निरन्तरता दिँदै आएका छन्। सोमवार पनि उनीहरुले पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका थिए। २४ गते पनि धर्नामा बस्ने न्यौपानेले जानकारी दिए।
‘पार्टी विभाजन हुनुपर्ने कारण देखिँदैन। पार्टी फुटाउन हुँदैन। पार्टी विधान अनुसार चल्नुपर्छ भन्दै धर्ना दिएका हौँ,’ न्यौपानेले भने।
गत पुष १५ देखि १९ गतेसम्म बैठक चलेको थियो। नेकपाको विधानमा ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उल्लेख छ। २५ प्रतिशतले बैठकको लिखित माग गरे बैठक राख्नुपर्ने प्रावधान छ। नेकपामा ४४१ केन्द्रीय सदस्य छन्।
असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। अर्को बैठक बुधवारका लागि बोलाइएको छ।
