काठमाडौं : एकादेशमा लकडाउन निकै कडा थियो। कोरोना भाइरसको संक्रमणको डरले मानिसहरू घर भित्रै थुनिएका थिए। नेता पनि घरमै मस्त। बिना काम ‘लकडाउन हेर्न’ बाहिर निस्कनेहरूलाई प्रहरीले दुईचार घण्टा बाटैमा उभ्याउथ्यो। फलामे यन्त्रले मान्छे च्याप्प समाएर प्रहरीले भ्यान भित्र हाल्थ्यो। साथीभाइका पुराना तस्विर खोजेर काव्य लेखिन्थ्यो फेसबुकमा। सामाजिक संजालका भित्ता लकडाउन डायरीले भरिन्थ्यो। कोही खाना प्रदर्शनी गर्ने त कोही किताब। देशविदेश सबैतिर कोरोनाको कहर थियो। समाचार पनि कोरोना डेडिकेटेड।
दिउँसो ४ बजे टिभीमा विकास देवकोटालाई हेरिन्थ्यो। २०/३० जना संक्रमित बढ्दा, ‘ल बर्बादै हुने भयो’ भनिन्थ्यो। भाइबरमा कोरोना संक्रमितको संख्या कुरिन्थ्यो। लकडाउन अझै कडा पार्नुपर्यो भनिन्थ्यो।
अहिले यो सबै एकादेशको कथा झै भइसक्यो। ‘कडा लकडाउन’को कहानी अखबारका पाना र अनलाइनका हेडलाइनमा सीमित भइसक्यो।
करिब साढे दुई महिना कडा लकडाउनमा बसेका नागरिकहरू असार १ गतेबाट स्वतन्त्र भए। बजार खुल्न थाल्यो। मानिसहरूको चहलपहल बढ्यो। सुनसान बनेका सडक भरिए।
तर, यी सबै कोरोना संक्रमितको संख्या नियन्त्रणमा आएकाले भएको होइन। सरकारले मोडालिटीको नाममा जनस्वास्थ्यसँग खेलवाड गरेपछि नागरिक पनि सरकारी पारामा चलेका हुन्। ‘कोरोना लागे ठीक भइहाल्छ’ भन्ने भ्रम। त्यसमाथि प्रधानमन्त्रीको बेसार नीति।
अहिले भने प्रधानमन्त्रीलाई नै बेसारको आवश्यकता परेको छ, प्रतिरोधात्मक क्षमता बढाएर सत्ता जोगाउनुपर्ने बेसार। नागरिक संक्रमित भए हुन्, ‘मरे कोरोनाले मरेको होइन’ भन्दियो। टन्टै साफ।
लकडाउन लुज भएसँगै संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ। दैनिक सयौं व्यक्तिमा संक्रमण भेटिन्छ। भाइबरमा म्यासेज त आउँछ तर धेरैलाई हेर्न फुर्सद छैन। डाक्टर विकास देवकोटापछि आएका नयाँ प्रवक्तालाई हेर्न बस्ने को?
सबैजना आफ्नै काममा मस्त छन्। नागरिकलाई कर्म गर्नुछ। मध्यम वर्गलाई बाँच्न पैसा जोहो गर्नुछ। गरिब र निम्न आय भएकालाई अझै दु:ख छ। धनीलाई पनि अलि गाह्रै छ, सायद्।
लकडाउन खुकुलो भएपछि पछिल्लो एक हप्तामा उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको ग्राफ ह्वात्तै बढेको छ। ह्वात्तै बढेको छन् कोरोना भुल्नेहरू पनि।
सोमवारमात्रै उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिए। काठमाडौंमा सबैभन्दा बढी २४ जना कोरोना संक्रमित देखिए। ललितपुरमा २० जनामा कोरोना पुष्टि हुँदा भक्तपुर १० जना पोजेटिभ देखिए। यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित रेकर्ड हो।
असार १५ गते उपत्यकामा ८ जना कोरोना संक्रमित देखिएका थिए। १६ गते १४ जनामा देखिएको संक्रमण १७ गते १७ जनामा। असार १८ गते उपत्यकामा ३२ जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो। त्यसपछि दुई दिन उपत्यकामा कोरोना संक्रमित देखिएनन्। असार २१ गते भने ३० संक्रमित देखिए। असार २२ मा त सबैभन्दा बढी ५४ जना संक्रमित भेटिए। स्वास्थ्य मन्त्रालयका अनुसार सोमवारसम्म काठमाडौं उपत्यकामा कूल २ सय ३९ जना संक्रमित देखिएका छन्। जसमा काठमाडौंमा सबैभन्दा बढी १ सय ६१ रहेका छन् भने ललितपुर र भक्तपुरमा ३९-३९ जना रहेका छन्।
तर, सडक र सत्तालाई यो रेकर्डको मतलब छैन।
सरकार जनताभन्दा पनि आफ्नो सत्ता जोगाउने ध्याउन्नमा मात्र छ।
कोरोनालाई ठट्टामा रुपमा लिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्ले अहिले देश कोरोनाबाट पीडित छ भन्ने बिर्सिसक्यो। प्रधानमन्त्री ओलीलाई आफ्नै दलभित्रबाट राजीनामा मागिएको छ। तर, उनी सत्ता त्याग्ने मुडमा छैनन्। सडकमा पनि ओली सरकारको विरोध नभएको होइन। आरडीटीको भरमा चलेको सरकारलाई पीसीआर परीक्षण गराउन उत्तादायी बनाउने भन्दै युवाहरू सडकमा छन्। आफ्नै खेतमा धान रोप्न जाँदा किसानलाई लाठी हानिएको छ। हिलाम्मे सडकमा धान रोपेर सरकारको विरोध भइरहेको छ। एमसीसी लगायत अन्य थुप्रै विषयले घेरिएको छ सरकार।
गाउँगाउँमा सिंहदरबार त पुग्यो। तर, काठमाडौंको सिंहदरबार बालुवाटारभित्र खुम्चिँदा पूरै देश कोरोनाको सिकार हुने संघारमा छ।
सरकारले जनदवावमा लकडाउन खुकुलो गर्यो। कागजमा सीमित मोडालिटी र कार्यविधि लागू गर्यो। अनि बार्गेनिङमा लाग्यो। जसको सबैभन्दा बढी प्रभाव उपत्यकामा देखियो। बिना कुनै तयारी र योजना सबैका लागि लकडाउन खुकुलो गर्दा काठमाडौंमा दैनिक सयौं व्यक्ति प्रवेश गरिरहेका छन्। लकडाउनको उल्लंघन गर्दै बस चढेर घर गएकाहरू उपत्यका छिरेका छन्। गृह मन्त्रालयले उपत्यका भित्र प्रवेश गर्नेलाई पासको आवश्यकता पर्ने र क्वारेन्टाइनमा बस्नुपर्ने उर्दी जारी गरेको छ। तर, काठमाडौं महानगरपालिकाले क्वारेन्टाइन कहिल्यै बनाउन त के सोच्न पनि चाहेन। संक्रमित जिल्लाबाट निर्वाध रुपमा आएर मानिसहरू चिया पसलमा गफिँदैछन् र भन्दैछन् ‘सरकारले केही गरेन यार।’
उनीहरूको पीडा आफ्नो ठाउँमा छ। कमाउनै पर्यो। त्यसको लागि काठमाडौं पस्नै पर्यो। सरकारले भाडा छुट दिन आग्रह गर्ने भनेर बोलेको बाहेक उनीहरूको लागि गरेको के नै छ र? न भाडा छुट पाए न काम नै।
ढिलै भए पनि सरकारले सोमवार मास्क अनिवार्य प्रयोग गर्न भन्यो। नत्र प्रहरीले कारवाही गर्ने चेतावनी दिइएको छ। तर, यसको कार्यान्वयनमा शंका गर्नुपर्ने ठाउँ धेरै छ।
कोरोना संक्रमितको संख्या न्यून हुँदा मानिसमा भाइरसलाई लिएर उत्पन्न डर अहिले देखिन्न जुन काठमाडौं उपत्यकाका लागि राम्रो पक्कै होइन।
काठमाडौं उपत्यकामा बाहिरबाट आएका बाहेक भेटिएका स्थानीय संक्रमित व्यक्तिहरूमा कोरोनाको स्रोत अझैसम्म फेला पार्न सकिएको छैन। न त संक्रमितको ट्रेसिङ गर्न सकिएको छ। न त भाइरसको स्रोत पत्ता लगाउन नै। दिनहुँ उपत्यकामा संक्रमित थपिँदै जाँदा बजारमा भिड बढ्दै गएको छ जसले उपत्यकालाई कोरोना भाइरसको नयाँ केन्द्र बनाउन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले सरकारलाई सतर्क गराएका छन्।
भाइरसको उत्पत्ति भएको चीनदेखि कोरोना फ्रि भइसकेका देशहरूमा समेत कोरोनाको दोस्रो लहर देखिन सुरु भएको छ। जसकारण कोरोनालाई अहिले नै हल्का रुपमा प्रधानमन्त्रीले भनेझै ‘रुघाखोकी’ का रुपमा मात्रै लिने बेला आएको छैन।
अहिले पनि उपत्यकामा बाहिरबाट आएकाहरूलाई व्यवस्थित रुपमा भित्र्याएर, क्वारेन्टाइनमा राखेर लकडाउनलाई चरणबद्ध रुपमा लागू गर्दै जनजीवन सामान्य बनाउन ढिला भएको छैन। उपत्यकामात्रै होइन, अन्य संक्रमित धेरै भएका जिल्लाहरूमा समेत आवश्यक कडाईका साथ लुज लकडाउनको नीति लागू गर्न सकिन्छ। साढे दुई महिना घरभित्र थुनिएका जनताले त्यो नमान्ने कुरै हुँदैन। तर, सरकारले त्यसका लागि हचुवाको भरमा भन्दा तयारी गरेर योजना ल्याउनुपर्छ।
तर, बालुवाटार सत्ताको बार्गेनिङमा लाग्ने र नागरिकलाई बिना कुनै सावधानी र योजना बाध्य बनाएर हिँड्ने लगाउने हो भने कुनै पनि बेला अवस्था नियन्त्रणभन्दा बाहिर जानसक्छ।
सबैको साथबाट आउने दिनमा कोरोना कहरको अन्त्य होस् र लकडाउन एकादेशकै कथामा सीमित बनोस्।