PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

शिक्षकलाई गोली हानी हत्या गरेर फरार ११ वर्षपछि समातिए



पहिलोपोस्ट

शिक्षकलाई गोली हानी हत्या गरेर फरार ११ वर्षपछि समातिए

काठमाडौं: बारामा एक शिक्षकको गोली हानी हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका १८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो।

नन्दु लगायतका अन्य मानिसले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमल्सिनालाई विद्यालयबाट घर फर्किने क्रममा सडकमा गोली प्रहार गरेका थिए। गोली लागेका शिक्षकको घटनास्थलमै मृत्यु भएको थियो। हत्यापछि मुख्य अभियुक्त नन्दु फरार थिए।

हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नन्दुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नि) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस-१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको प्रहरीले जानकारी दिएको छ।

नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतबारामा पेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell