PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन महिनादेखिको तलब नपाएको भन्दै बोर्डिङका शिक्षक तथा कर्मचारीले गरे आन्दोलनको तयारी



राधेश्याम पटेल

तीन महिनादेखिको तलब नपाएको भन्दै बोर्डिङका शिक्षक तथा कर्मचारीले गरे आन्दोलनको तयारी
Photo: google.com/maps

वीरगंज : पर्साको वीरगंजलगायत अन्य ठाउँको बोर्डिङ स्कूलका शिक्षक तथा कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरिरहेका छन्। कोरोना महामारीको समयमा विगत तीन महिनादेखि निजी विद्यालयले तलब भत्ता नदिँदा आर्थिक तनावमा परेको भन्दै आन्दोलनको विकल्प नरहेको शिक्षक कर्मचारीहरुले बताएका छन्।

प्याब्सन अन्तर्गतकै डीएभी आरबी केडिया स्कुलका करिब २५ जना कर्मचारीहरु आन्दोलनको तयारीमा जुटेको जिफन्ट निकट समग्र उद्योग ट्रेड युनियन एकाई अध्यक्ष ऋषिलाल चौरसियाले जानकारी दिए।

विद्यालयले कोरोना महामारीको कारण २५ जना कर्मचारी, चालक, सहचालक, कार्यालय सहयोगीको गत चैतदेखिको तलब भत्ता नदिएको स्कुलका मजदुर नेता चौरसियाले गुनासो गरे।फागुनको पनि ५० प्रतिशत मात्र तलब दिइएको कर्मचारीहरुको गुनासो छ।

पर्सा जिल्लामा प्याब्सन अन्तर्गत ३८ र एनप्याब्सन अन्तर्गत ५६ गरी कुल ९४ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन्। अधिकांश विद्यालयका आंशिक शिक्षक र कर्मचारीहरुको तलब भत्ता ‘होल्ड’ गरिएको प्याब्सन पर्साका अध्यक्ष हरिशंकर साहले स्वीकार गरे।

‘लकडाउनमा कतिपय अभिभावकले चैतको शुल्क पनि तिरेका छैनन्, यस्तो अवस्थामा धेरै विद्यालयले आर्थिक भार खेप्न अप्ठेरो छ। त्यसकारण सरकारले सरोकारवाला निकायसँग छलफल गरेपछि जस्तो निर्देशन आउँछ, त्यसै अनुरुप तलब भक्ता दिने छौ,’ प्याब्सन पर्सा अध्यक्ष साहले भने।

९४ भन्दा बढी निजी विद्यालयमा २ हजार भन्दा बढि शिक्षक तथा कर्मचारीले चैतदेखि तलबभत्ता नपाएको अनुमान गरिएको छ। प्याब्सनले पूर्णकालिन शिक्षकलाई चैत सम्मको पूरै तलब दिइसकेको दावी गरेको छ।

यता डीएभी स्कुलका प्रबन्धक दिलीप गुप्ताले कर्मचारी स्कुलकै सदस्य भएकोले कति र कसरी तलब भक्ता दिएर समस्या समानधान गर्ने भन्ने विषयमा छलफल हुने बताए।

यस विषयमा जिफन्ट निकट समग्र उद्योग ट्रेड युनियन पर्साका अध्यक्ष विनोद महतोले लकडाउन अवधीभर सरकारले कर्मचारी तथा मजदुरलाई तलबको ५० प्रतिशत अनुदान दिने निर्देशन दिएकोले सोही अनुरुप विद्यालयले कर्मचारीलाई तलब भत्ता दिन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell