PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टीको कारबाहीबारे सरिता गिरीलाई सात प्रश्न : उपेन्द्र, बाबुराम र राजेन्द्र महतोलाई मुद्दा हाल्छु



प्रकाश भण्डारी

पार्टीको कारबाहीबारे सरिता गिरीलाई सात प्रश्न : उपेन्द्र, बाबुराम र राजेन्द्र महतोलाई मुद्दा हाल्छु
फाइल फोटो

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टी र सांसदबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। यसबारे गिरीलाई पहिलोपोस्टका प्रकाश भण्डारीले सात प्रश्न सोधेका छन् :

पार्टीले त तपाइलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरेछ नि, के छ तपाइको धारणा?

मैले समाचार हेरिरहेकी छु। तर, रिटन टेक्स्ट पाएको छैन। पार्टीको निर्णयको प्रति मसँग छैन।

म तपाइलाई दुई लाइनमा भन्छु,  सीमाका बारेमा ६० वर्ष देखिको विवाद र समस्या रहेछ। र यो अहिले सिर्जना गरिएको हो। अहिले सम्मकोमा त विवाद थिएन। सीमानामा राष्ट्रियता खोज्ने मेरा पार्टीका नेताहरु हुनुहुन्छ नि। उहाँहरु प्रति मेरो सहानुभुति छ। म त्यतिमात्र भन्छु। म सीमानमा राष्ट्रियता देख्दिनँ। सीमानाको विवाद नाप, खोज प्रमाणका आधारमा समस्या समाधान गर्नुपर्छ।

कारवाही नै गरिसकेपछि अब के गर्नु हुन्छ?

अब मैले गर्ने भनेकै लिगल अपिल हो। मेरा पार्टीका नेताहरु हुनुहुन्छ नि। उहाँहरुकै विरुद्धमा अपिल गर्ने हो।

कुन नेताका विरुद्ध अपिल गर्नुहुन्छ?

मेरा पार्टीका शीर्ष नेता हुनुहुन्छ नि। उपेन्द्र, बाबुराम, राजेन्द्र महतोकै विरोधमा अपिल गर्ने हो। पहिला पार्टीको पत्र त आओस्।

मुद्दा नै हाल्ने योजना हो?

अफ कोर्स। मैले त अब अदालतमा मुद्दा नै हाल्ने हो।

तपाइले त पार्टीको ह्वीप नै नमानेर राष्ट्रियताविरुद्ध उभिनु भयो। त्यही भएर कारवाही गरेको हो नि!

पार्टीमा ह्वीप कसरी जारी हुन्छ छलफल हुन्छ कि हुँदैन। छलफल नै नगरीकन कसरी ह्वीप हुन्छ। सरकारले जेठ ९ गते विधयक दर्ता गराएको हो।  जेठ  २७ मा सैद्धान्तिक छलफल त्यो बेलासम्म पार्टीले बैठक गरेर कुनै निर्णय गरेको होइन। अनि मैले २८ गते संशोधन दर्ता गराए त्यो पनि पार्टी अध्यक्षलाई जानकारी गराएर। दर्ता गराएर घर आइपुगेको छैन। कसैले पत्र लिएर आयो। त्यो पत्र पनि अवैधानिक हो। त्यो पत्र किन अवैधानिक हो भने हाम्रो पार्टीको विधानअनुसार संसदीय दलको निर्णयअनुसार सचेतकले पत्र लेख्छ। सचेतकको हस्ताक्षर केही छैन। यो कसको निर्देशन हो। पार्टी अध्यक्षको की संसदीय दलको?

त्यसो भए तपाइकै पार्टीले त्यो बेला षडयन्त्र गर्‍यो?

हो पक्कै पनि यो षड्यन्त्र नै हो।

अब त तपाइको सांसद पद गुम्यो, तपाइको कुरा कसले सुन्ला त?

मेरो पद गएको छैन। म अहिले पनि प्रतिनिधि सभाको सदस्य नै हो। जबसम्म संसदले मलाई निकाल्दैन तबसम्म मेरो पद जादैन। जबसम्म पद रिक्त गर्दैन तबसम्म म माननीय नै छु। अनि मेरो दलका नेताले संसदीय दललाई छलेर काम गर्नु भएको छ। म संसदीय दलको उपनेता थिए नि त?  मैले यसअघि पनि स्पष्टिकरण दिएको छु। यसलाई उहाँहरुले पार्टीको कार्यकारीणी समितिमा लिनु भयो। जहाँ अधिकांश पहाडी मुलका नेता छन्। २५ जनाको पदाधिकारी छन् त्यसमा १९ जना पहाडी मुलका छन्। धेरैजसो कम्युनिष्ट ब्यकग्राउन्डको छन्। म त डेमोक्रेटिक हो प्रश्न गर्छु। मलाई त बैठकमा कहिल्यै राख्दै राखेनन्। जहाँबाट अहिले मलाई कारवाहीको निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell