PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ३८ जिल्लाका २०४ जनामा कोरोना पुष्टि, यस्तो छ जिल्लागत विवरण



विधुर ढकाल

पछिल्लो २४ घण्टामा ३८ जिल्लाका २०४ जनामा कोरोना पुष्टि, यस्तो छ जिल्लागत विवरण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा छ हजार १३३ जनाको नमुना परीक्षण गरिएकोमा ३८ जिल्लाका २०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अहिले देशका विभिन्न स्थानीय तहका क्वारेन्टाइन सेन्टरमा २५ हजार ७२७ जना रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ७ हजार ४९९ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ६८८ जना डिस्चार्ज भएको गौतमले जानकारी दिए।

मंगलवार संक्रमण पुष्टि भएकामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका १, सुनसरीका २ तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश नम्बर २ को गजेन्द्र नारायण सिंह अस्पतालमा भएको परीक्षणमा सप्तरीमा ३ जनामा तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ११, बैडतीका ११, डोटीका ७, गोरखाका १, काठमाडौंका १ र सिन्धुलीका १ जना रहेका छन्।

राष्ट्रिय किटजन्य रोग अन्वेषण केन्द्र हेटौँडामा मकवानपुरका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जना रहेका छन्।

पाटन अस्पतालमा भएको परीक्षणमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १/१ जना संक्रमित भेटिएका छन्। त्यस्तै, सर्लाहीका ३ जनामा पनि पाटन अस्पतालमा भएको परीक्षणमा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा तनहुँका २, बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अर्घाखाँचीका, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका २ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालमा भएको परीक्षणमा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २ तथा सल्यान र सुर्खेतका ५/५ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा सुर्खेतका ३ तथा डडेलधुरा अस्पतालमा भएको परीक्षणमा डडेलधुराका ६ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।

नेपालका ७७ वटै जिल्लामा संक्रमण पुष्टि भए पनि चार वटा जिल्लाका सबै संक्रमित डिस्चार्ज भइसकेका छन्। तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लाका सबै संक्रमित डिस्चार्ज भइसकेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell