PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संकटमा जनता जोगाउने भन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : कांग्रेस महामन्त्री कोइराला



पहिलोपोस्ट

संकटमा जनता जोगाउने भन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : कांग्रेस महामन्त्री कोइराला
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्। सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना गरेको वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए।

उनले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दुरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे। उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए।

१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ उर्जा थप गर्ने कोइरालाको भनाइ थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा वीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए। उनले कम्युनिस्टहरुले समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै वीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका विषयमा धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell