PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शैलेश थापा : पिताको ‘पुलिस ड्रेस’ले लोभ्याएर जागिर खाँदा संगठन कमाण्डको अवसर, यस्तो छ ट्रयाक रेकर्ड



सविन ढकाल

शैलेश थापा : पिताको ‘पुलिस ड्रेस’ले लोभ्याएर जागिर खाँदा संगठन कमाण्डको अवसर, यस्तो छ ट्रयाक रेकर्ड

काठमाडौं : नेपाल प्रहरीका एआईजी शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आइजीपी) बन्न सफल भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई आईजीपी नियुक्ति गर्ने निर्णय गरेको हो।

थापा नेपाल प्रहरीमा शालिन, कम विवादास्पद र स्वच्छ छवी भएका प्रहरी अफिसरका रुपमा चिनिन्छन्। प्रशासकीय र योजनाका काममा थापाको नेतृत्व कुशल देखिँदै आएको छ। गत फागुनको दोस्रो साता थापा एआईजीमा बढुवाका भएका हुन्।

एआईजी हरिबहादुर पाल र थापा २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। एआईजी बढुवामा थापा तीन जनामध्ये दोस्रो नम्बरमा थिए। ६८ दशमलव ४०६ अंक प्राप्त गरेका थिए उनले। त्यस्तै, पालले भने ६७ दशमलव ५५३ नम्बर प्राप्त गरेका थिए। बढुवामा सधै अग्रस्थानमा रहँदै आएका थापाले महानिरीक्षकमा पनि बाजी मारेका हुन्।

थापा डीआईजीमा बढुवा भइसकेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालेका थिए। काठमाडौं उपत्यकाका रौथाने हुन् थापा। २०२५ मंसीरमा भक्तपुरको कटुन्जेमा उनको जन्म भएको थियो। थापाका बुबा शुम्भु थापा समेत नेपाल प्रहरीमा थिए। सानैदेखि उनलाई घरमा बुबाले लगाएको प्रहरीको ड्रेसले लोभ्याउँथ्यो।

'सानैदेखि बुबा प्रहरीको भेषमा देखे। त्यतिखेर नै मनमा कहिँ कतै प्रहरी नै हुनुपर्छ भन्ने भएको रहेछ,' एआइजी थापाले भने।

उनी प्रहरी सेवामा प्रवेश गरेको करिव तीन वर्षमा उनका बुबा रिटायर भए। नवयुक्त महानिरीक्षक थापाका बुबा डीआईजीबाट रिटायर भएका थिए। सरकारी जागिरका लागि पहिलो र अन्तिम प्रयास नै प्रहरी बन्यो।

२०५८ फागुनमा उनी डिएसपीमा बढुवा भएका थिए। त्यसपछि १० वर्षपछि २०६७ पुसमा एसपी भए। एसपी भएपछि जिल्लाको कमाण्ड सम्हाल्ने मौका मिल्यो। २०७४ साउन एसएसपीमा बढुवा भएका थिए। २०७५ अशोज २८ गते डिआइजीमा बढुवा भए। २०७६ फागुनमा उनी एआइजी बढुवा सिफारीसमा परेका थिए।

दश वर्षे जनयुद्धमा थापाले सल्यान जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ। त्यसपछि उनले सिन्धुपाल्चोक, कास्की, धादिङ र झापा जिल्लाको प्रहरी प्रमुख भएर काम गरेका थिए।

नेपाल प्रहरीमा पछिल्लो समय 'सेलिब्रेटी' अफिसर बन्ने होडबाजी जस्तै चलेको छ। विभिन्न स्टन्ट गरेर केही प्रहरी चर्चामा आइरहन्छन्। तर, थापा भने लो प्रोफाइलमै बसेर काम गर्न रुचाउने प्रहरी अफिसरका रुपमा चिनिन्छन्। कक्सन र रिक्स कम हुनेगरी बोल्ने प्रहरीका रुपमा उनको ‌आलोचना पनि हुने गर्छ। उनीसामु दुई वर्षे कार्यकालमा उनको शैली नै उनीसामु चुनौतीका रुपमा रहेको छ।

केही समयदेखि प्रहरीभित्र देखिएका विभिन्न विकृति, लकडाउनपछि देशमा बढ्ने अनुमान गरिएको अपराध, प्रहरीभित्र बढुवा तथा सरुवामा हुने राजनीतिक हस्तक्षेप लगायतका चुनौतीलाई थापाले कसरी चिर्छन्? त्यो अब समयको गर्भमा नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell