PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार बढी, २० वर्ष भन्दा कम उमेरबाटै बस्छ अधिकांशको लत



पहिलोपोस्ट

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार बढी, २० वर्ष भन्दा कम उमेरबाटै बस्छ अधिकांशको लत
Photo: hopkinsmedicine.org

काठमाडौं : गृह मन्त्रालयले लागुऔषध प्रयोगकर्ताहरुको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा २०७६ कात्तिक १३ गते देखि २०७६ मंसिर १५ गतेसम्म सञ्चालन गरेको लागुऔषध प्रयोगकर्ताहरुको सर्वेक्षण, २०७६ को प्रतिवेदन मंगलवार सार्वजनिक गरेको हो।

तथ्यांक अनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४२४ पुगेको छ। प्रयोगकर्ताहरुको वार्षिक औसत वृद्धिदर विगतको ११.३६ प्रतिशतबाट घटेर ५.०६ प्रतिशतमा रहेको सर्वेक्षणले देखाएको छ।

प्रयोगकर्तामध्ये पुरुषको संख्या १ लाख २१ हजार ६९२ अर्थात ९३.३ प्रतिशत तथा महिलाको संख्या ८ हजार ७३२ अर्थात ६.७ प्रतिशत रहेको छ। जसमा ५१.१ प्रतिशत (५१.९ प्रतिशत पुरुष र ३५.४ प्रतिशत महिला)ले एकान्त स्थानमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको छ।

त्यसैगरी, ४० प्रतिशत प्रयोगकर्ताहरु कुनै पनि पेशामा आबद्ध नरहेको तथ्यांकले देखाएको छ। लागुऔषध प्रयोगकर्ता महिलाहरुको सबैभन्दा ठूलो अनुपात (७१.७ प्रतिशत) बेरोजगार रहेको देखिन्छ, जुन पुरुष प्रयोगकर्ता (३८.० प्रतिशत) को तुलनामा धेरै रहेको सर्वेक्षणले देखाएको छ।

लागुऔषध प्रयोगकर्तामध्ये युवाको संख्या धेरै रहेको देखिन्छ। सर्वेक्षण अनुसार अधिकांश लागुऔषध प्रयोगकर्ताहरूले २० वर्ष भन्दा कम उमेरमा नै पहिलोपटक लागुऔषधको सेवन शुरु गरेको देखिएको छ। २० वर्ष भन्दा कम उमेरमा लागुऔषध सेवन गर्ने प्रयोगकर्तामध्ये ८८ प्रतिशतले गाँजाजन्य, ६३.४ प्रतिशतले अफिमजन्य, ५२.२ प्रतिशतले आनन्ददायी पदार्थ, ९२.३ प्रतिशतले सुँघ्ने पदार्थ, २३.८ प्रतिशतले भ्रमात्मक पदार्थ र ४५.८ प्रतिशतले उत्तेजनात्मक पदार्थ सेवन गरेको देखिन्छ।

सबैभन्दा बढी प्रयोग गरिने लागुऔषधमा गाँजाजन्य पदार्थ ८४.७ प्रतिशत रहेको छ। त्यसपछि क्रमशः आनन्ददायीजन्य ७३.१ प्रतिशत तथा अफिमजन्य ४६.८ प्रतिशत रहेको देखिन्छ।

प्रदेशगत रुपमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ताहरुको संख्या वाग्मती प्रदेशमा ३५.६ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.४ प्रतिशत रहेको देखिएको छ।

एक पटक गाँजाजन्य पदार्थ सेवन गर्दा प्रयोगकर्ताले औसत ९२ रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ भने त्यसपछि कमशः सुँध्नेका लागि १२४, आनन्ददायी पदार्थका लागि ५७४, अफिमजन्य पदार्थका लागि ८६९, उत्तेजनात्मकका लागि १ हजार ८९० र भ्रमात्मकजन्यका लागि २ हजार १९५ रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ।

त्यसैगरी, प्रयोगकर्तामध्ये २९.३ प्रतिशतले सूईको माध्यमद्वारा प्रयोग गर्ने गरेका र ५.० प्रतिशतले एक अर्कामा सुई र सिरिन्ज साटासाट गर्ने गरेको देखिन्छ। ९२.८ प्रतिशत प्रयोगकर्तालाई सिरिन्ज आदान प्रदान गर्दा एचआइभी/एड्स, हेपाटाइटिस बी/सी जस्ता सरुवा रोगहरु सर्ने जानकारी रहेको देखिन्छ।

साथीसंगीको दबाबले लागुऔषध प्रयोग गर्नेहरुको संख्या ८९.४ प्रतिशत रहेको देखिन्छ भने मनोरञ्जनका लागि प्रयोग गर्नेहरुको संख्या ७२.१ प्रतिशत रहेको देखिन्छ।

यसैगरी, सर्वेक्षणको नतिजा अनुसार ४७.२ प्रतिशत लागुऔषध प्रयोगकर्ताहरुले उनीहरुको जीवनस्तरमा सुधार ल्याई लागुऔषधको कूलतबाट मुक्त गर्न सरकारले रोजगारीका अवसरहरूमा वृद्धि गर्नुपर्ने र ३६.० प्रतिशतले निःशुल्क उपचार सेवा प्रदान गर्नुपर्ने बताएका छन्।

साथै, ३९.२ प्रतिशत प्रयोगकर्ताहरुले लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा प्रभावकारी जाँच र निरीक्षण गर्न सरकारलाई सुझाव दिएका छन्।

२०६३ र २०६९ पछिको यो तेस्रो राष्ट्रिय सर्वेक्षण हो। अघिल्लो सर्वेक्षण पश्चात् लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्बन गरेको रणनीति, कार्यक्रम र क्रियाकलापहरुको प्रभावकारिताले नेपालको लागुऔषध दुर्व्यसनको वार्षिक वृद्धिदर उल्लेख्य रुपमा घटेको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध दुर्व्यसन लामो समयदेखि मानवीय संस्कृति र अस्तित्वविरूद्ध विश्वव्यापी चुनौतीको रूपमा रहेको बताए। उनले यसविरुद्ध सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत एवं सरोकारवाला सबैले जिम्मेवारी बोध गरी अगाडि बढ्नुपर्नेमा जोड दिँदै स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणमार्फत् ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा प्राप्तिको दिशामा सहकार्यका लागि आव्हान समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell