PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिनियर डिभिजन इन्जिनियरको खर्च आयको तुलनामा तीन करोड बढी



रासस

सिनियर डिभिजन इन्जिनियरको खर्च आयको तुलनामा तीन करोड बढी

काठमाडौं : अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो।

सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए। हाल क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहेका छन्।

आयोगले २०६३ पुस ५ देखि २०७७ जेठ मसान्तसम्मको छानबिन गरेको थियो। उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक, जग्गा भाडा, कर्मचारी सञ्चय कोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय गरी एक करोड ९२ लाख १६ हजार २९८ रुपैयाँ बराबर मात्र वैधानिक आय गरेको देखिन्छ।

आयोगको अनुसन्धानअनुसार उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम, साथमा रहेको नगद, श्रीमती दुर्गाका नाममा विभिन्न बैंकमा रहेको खाताको मौज्दात तथा लगानी जाँच गर्दा पाँच करोड एक लाख ४३ हजार ४५१ बराबरको सम्पत्ति रहेको पाइएको छ। वैध आयको तुलनामा खर्च तथा लगानीको मात्रा तीन करोड १० लाख २७ हजार १५३ बढी रहेको पाइएको छ। सोही आधारमा आयोगले मंगलवार तीन करोड १० लाख २७ हजार १५३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै, आयोगले मंगलवार नै जिल्ला प्रहरी कार्यालय सर्लाही चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवलाई पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ। भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको आयोगको दावी छ। आयोगको बर्दिबासबाट गएको टोलीले मंगलवार कार्यालय परिसरबाटै यादवलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell