PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष तीनमा उक्लियो चेल्सी



पहिलोपोस्ट

क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष तीनमा उक्लियो चेल्सी

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा भएको खेलमा चेल्सीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो।

विलियनको पासमा ओलिभर जिराउडले गोल गरेसँगै खेलको छैटौं मिनेटमै अग्रता बनाएको चेल्सीका लागि २९ औं मिनेटमा विलियनकै पासमा क्रिस्टियन पुलिसिकले अर्को गोल गरे। यता घरेलु टोलीका लागि खेलको ३४ औं मिनेटमा विलफ्रिड जहाले गोल फर्काउँदा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो।

दोस्रो हाफमा चेल्सीका टमी अब्राहमले गोल थपे। खेलको ६५ औं मिनेटमा जिराउडको स्थानमा मैदान प्रवेश गरेका उनले खेलको ७१ औं मिनेटमा गोल गरे।

तर त्यसको एक मिनेटमै घरेलु टोलीका लागि क्रिस्टियन बेन्टेकेले गोल फर्काए। तर टिमलाई खेलमा फर्कन त्यो पर्याप्त रहेन र खेल चेल्सीले ३-२ ले जित्यो।

आर्सनल र लेस्टर सिटीको बराबरी

गएराति नै भएको अर्को खेलमा आर्सनल र लेस्टरसिटीले बराबरी १-१ गोलको खेले। औबमेयाङको गोलमा खेलको २१ औं मिनेटमा अग्रता बनाएको घरेलु टोलीले अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुग्यो।

दोस्रो हाफमा एडि नेकिया रेडकार्ड खाँदै बाहिरिएसँगै आर्सनल थप दबावमा पर्‍यो। आर्सनल १० खेलाडीमा सीमित भएको ९ मिनेटमै लेस्टरले खेल बराबरीमा ल्यायो। खेलको ८४ औं मिनेटमा जेमी भर्डेले गोल गर्दै खेल बराबरीमा ल्याए।

गएरातिको खेलमा लेस्टरसिटीले अंकबाँडेसँगै चेल्सीले शीर्ष तीनमा उक्लने अवसर पायो। ३४ खेलबाट ६० अंक जोडेको समान खेलबाट ५९ अंक जोडेको लेस्टरसिटीलाई पछि पार्न सफल रह्यो। अंकतालिकामा आर्सनल ५० अंक सहित सातौं स्थानमा र क्रिस्टल प्यालेस ४२ अंकसहित १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell