PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२४ करोडको लागतमा बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’, उद्देश्य जीवजन्तुको संरक्षण र पर्यटन विकास



रासस

२४ करोडको लागतमा बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’, उद्देश्य जीवजन्तुको संरक्षण र पर्यटन विकास
फोटो : रासस।

गलकोट : बागलुङ नगरपालिकामा नेपालकै नमुना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ। सामुदायिक बनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो। आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी आव २०७७/७८ मा निर्माण कार्य थाल्न बजेटसमेत विनियोजन भएको छ।

जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले आठ लाख रुपैयाँको लागतमा सम्भाव्यता अध्ययनसहित डीपीआर तयार गरेको थियो। २४ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत बागलुङ नगरपालिकालाई आगामी आव २०७७/७८ मा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिए।

जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताए।

‘यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ’, पौडेलले भने, ‘शुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरु आउँदै जानेछन्।’

नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माण कार्य आरम्भ गरिनेछ। पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ। हालसम्म कानुनी प्रक्रिया सबै पूरा भइसकेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नम्बर ५, ६ र ७ मा पर्ने पाँच सामुदायिक बनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकालेपछि यसको पहल थालिएको थियो। बीस वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको सामुदायिक बनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यान दिएर जुलोजिकल पार्क निर्माण गरिने निर्माणको जिम्मा लिएको आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनका अध्यक्ष शेरसिंह ठकुन्नाले जानकारी दिए।

उनले पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जंगल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जंगलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने गरी डीपीआर तयार गरिएको ठकुन्नाले बताए।

‘जुलोजिकल पार्क नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुनेछ’, ठकुन्नाले भने, ‘त्यस बन क्षेत्रमा बाँच्न सक्ने तर त्यस ठाउँमा हाललाई नभएको जीवजन्तुलाई समेत त्यस क्षेत्रमा तारबार गरेर राख्न सकिन्छ।’

उनले पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जंगल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने बताए। खासगरी जंगली जनवारको बासस्थान संरक्षण गर्नु मुख्य काम हुनेछ। मालिका क्षेत्रमा रहेको सामुदायिक बनमा जुलोजिकल पार्क निर्माण गरी बागलुङ आउने पर्यटकलाई जैविक तथा प्राकृतिक विविधतामा रमाउने लक्ष्य बागलुङ नगरपालिकाको छ।

जंगली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिँदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो। सामुदायिक बन क्षेत्रमा १०० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा पाइएको छ। बागलुङमा पाँच कोटको संगम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ।

पाँच कोटमध्येका ताराजालकोट, कारिकोट, माझकोट, संसारकोट र रायँरायकोट क्षेत्रसमेत जुलोजिकल पार्क क्षेत्रमा पर्ने भएकाले नगर र जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। पाँच कोटमध्ये प्राकृतिक तथा धार्मिक हिसाबले संसारकोट धेरै चर्चित छ। भौगोलिकलगायतका क्षेत्र यही बन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पुर्‍याउन सहज हुने नगरप्रमुख पौडेल बताउँछन्। पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधासम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागिसमेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell