PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनका कारण भारतमै अड्कियो २७ हजार टन रासायनिक मल



राधेश्याम पटेल

लकडाउनका कारण भारतमै अड्कियो २७ हजार टन रासायनिक मल

वीरगंज : कोरोना महामारीका कारण नेपाल भारतमा लकडाउन जारी गरिएपछि आयातनिर्यातमा प्रतिकुल असर परेको छ। विदेशबाट आउने सामानहरु भारतका विभिन्न बन्दरगाहमा फसेका कारण नेपालमा ती वस्तुको चरम अभाव हुँदै गएको छ।

धानबाली लगाउने सिजन चलिरहँदा विदेशबाट आयत गरी भारत हुँदै नेपाल आउने रासायनिक मलहरु भारतको कोलकाता र विशाखापटनम बन्दरगाहमा करिब २७ हजार टन रासायनिक मल अलपत्र परेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगंजका निमित्त प्रमुख गोरखनाथ केसीले जानकारी दिए।

चालू आवको ग्लोबल टेण्डरबाट वीरगंज नाकाबाट भित्रिने ५० हजार टन युरियाबाट अब २० हजार टन मात्र आउन बाँकी रहेको उनले जानकारी बताए। त्यसैगरी, डीएपी १० हजार टन आउन बाँकी रहेकोमा ३ हजार टन केही दिनअघि वीरगंजको श्रीसिया सुक्खा बन्दरगाहमा आइसकेको उनले जानकारी दिए।

यूरिया र डीएपी गरी २७ हजार टन मल कोलकाता र विशाखापटनममा फसेको उनको भनाइ छ। लकडाउन र कोरोना महामारीका कारण कोलकाता बन्दरगाहमा श्रमिक अभाव हुँदा मेगासिपबाट आएको मलखाद अनलोड गरी ट्रक वा कन्टेनरमा पल्टी गर्न नसकेर यस्तो समस्या आएको भारतीय बन्दरगाहका अधिकारीहरुले बताएका छन्।

विदेशबाट भारत हुँदैै भित्रिने मलहरु वीरगंज, भैरहाव र विराटनगर नाकाबाट नेपाल भित्रिन्छन्। वीरगंजबाट यूरिया ६३ हजार ३ सय टन भित्रिनु पर्नेमा ५२ हजार २ सय ३८ टन भित्रिसकेको छ भने ४२ हजार टन डीएपीमध्ये ३३ हजार ६ सय २८ टन डिएपी मल भित्रेको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख केसीले बताए।

त्यसैगरी, ३ हजार ३ सय ३५ टन पोटास भित्र्याउनु पर्नेमा २ हजार ८ सय ४३ टन पोटास भित्रिएको छ। वीरगंज नाकाबाट भित्रिएका मलहरु पर्सालगायत १६ वटा विभिन्न जिल्लाको कार्यालयहरुमा पठाइएको छ। पर्सामा १ हजार ५ सय ७० टन यूरिया, ६ हजार २ सय १३ टन डीएपी र १ सय ८१ टन पोटास विभिन्न सहकारीबाट वितरण गरिएको छ भने बाँकी मलहरु कलैया, चपुर, जनकपुर, ढल्के, मलगंवा, हेटौँडा, काठमाडौं, धुलिखेल, त्रिशुली, खजुरी, भरतपुर, कावासोती, दमौली पोखरा र पर्वतस्थित कृषि सामाग्री कम्पनीको शाखा कार्यालयहरुलाई विक्रीको लागि पठाइएको छ।

नेपालमा वर्षेनी ७ लाख टन रासायनिक मल आवश्यक रहेकोमा जम्मा ५० प्रतिशत खपतको मल आयात गरिन्छ। जसमा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट टेड्रिङ कम्पनीले ३० प्रतिशत गरी वार्षिक रुपमा ३ लाख टन मल आयात हुने गरेको बताइएको छ। यूरिया इन्टरनेशनल कोमोडिटी दुबई र डीएपी आइपीएल भारतबाट आपूर्ति गर्ने सम्झौता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell