PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सुदूरपश्चिम सरकारले पेलेरै बजेट पारित गरेपछि प्रतिपक्षीको प्रतिक्रिया : अब सडकमा जान्छौँ



एम बम

सुदूरपश्चिम सरकारले पेलेरै बजेट पारित गरेपछि प्रतिपक्षीको प्रतिक्रिया : अब सडकमा जान्छौँ

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित गरेको छ। असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहोराले प्रदेश सभामा प्रस्तुत गरेको ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रतिपक्षीको नाराबाजीका बीच बुधवारको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको रोष्टम घेराउ र नाराबाजीका बीच पनि सत्तापक्षको बहुमतका आधारमा बजेट पारित गरिएको हो।

प्रतिपक्षी दलहरुले प्रदेशमा कोभिड-१९ को संक्रमण भयावह बन्दै जाँदा यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेश भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए। प्रतिपक्षीको आवाज नै नसुनेर बुधवारको तेस्रो बैठकबाट बजेट पारित गरिएको छ।

बहुमतका आधारमा पेलेरै बजेट पारित गरिएपछि प्रतिपक्षी दल सरकारसँग थप रुष्ट बनेको छ। प्रतिपक्षी दुई दलले अब सरकारका गलत कदमकाविरुद्ध खबरदारी गर्न सडकमा समेत जाने बताएका छन्।

बजेटपारित भएपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले अब सदनबाट मागहरु सम्बेधन हुने अवस्था नआए सरकारविरुद्ध खबरदारी गर्न सडकमा जाने बताए।

‘सरकारको यो असंवैधानिक र सहकार्य विरोधी कदमकाविरुद्ध हामी जनता सामु र सडकमा जाने छौँ,’ उनले भने।

तर, सरकारले भने प्रतिपक्षी दलहरुले झुठा र कपोकल्पीत कुराहरु ल्याएर अनावश्यक बखेडा झिकेको आरोप लगाएको छ। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले प्रतिपक्षी दलका सांसदहरुले अनावश्यक बखेडा झिकेको बताए।

‘म दावाका साथ भन्छु सरकारले कही कतै अनियमितता गरेको ठहर भएछ भने त्यसको जिम्मेवार सरकार हो। तर, प्रतिपक्षीदलका साथीहरुले अनावश्यक विषयमा सदन अवरुद्ध पार्न खोज्नु कानुन र संविधान विपरीत कुरा हो,’ उनले भने।

बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell