PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लगातारको वर्षाले बढ्यो बाढी पहिरोको जोखिम, चनाखो रहन प्राधिकरणको आग्रह



पहिलोपोस्ट

लगातारको वर्षाले बढ्यो बाढी पहिरोको जोखिम, चनाखो रहन प्राधिकरणको आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले बिहीवारदेखि आइतवार (असार २८ गते)सम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको भन्दै बाढीको सम्भावनाबारे सचेत गराएको हो।

यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकोले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणले जनाएको छ। लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो जान सक्नेबारे चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ।

‘शुक्रवारदेखि आइतवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुन सक्ने पूर्वानुमान गरिएको छ। खासगरी १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विषेश आग्रह गर्दछौं,’ प्राधिकरणले भनेको छ।

तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका कतिपय होचो ठाउँमा डुवानको सम्भावना भएकाले बेलैमा सचेत रहन अनुरोध गरिएको छ। त्यसका अलावा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन जरुरी देखिएको प्राधिकरणले जनाएको छ।

ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा सम्पर्क गर्न सकिनेछ। साथै, मोबाइलमा आउने एसएमएसमा पनि विशेष ध्यान दिन प्राधिकरणले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell