काठमाडौं : संयुक्त राष्ट्र संघलगायत विभिन्न देशका कूटनीतिक निकायले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका क्रममा भेदभाव, यौन शोषण तथा दुर्व्यवहाररहित वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
राष्ट्र संघलगायतका विभिन्न देशका दूतावासले बुधवार संयुक्त प्रेस वक्तव्य जारी गर्दै भेदभाव, यौन शोषण तथा दुर्व्यवहारबाट सुरक्षित रहन पाउने अधिकारको सम्मान गर्न कोभिड-१९ प्रतिकार्यमा संलग्न सबै पक्षलाई आग्रह गरेका हुन्। क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा बस्दा वा स्वास्थ्य सेवा तथा उपचार प्राप्त गर्दा पनि सुरक्षित वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
गत २०७६ फागुन २८ देखि २०७७ जेठ २४ बीचको समयमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६२४ वटा घटना दर्ता भएका थिए।
‘महिलाहरू आफ्ना परिवार तथा समुदायमा फर्कनु अघिको समयावधिमा सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टाइन केन्द्रहरूमा नै यौन दुर्व्यवहार भएको चिन्ताजनक बयानहरू बाहिर आएका छन्। यौन शोषण र दुर्व्यवहारप्रति हामीले शुन्य सहनशीलता कायम गर्नुपर्छ, र प्रत्येक आरोपलाई गम्भीरतापूवर्क लिई त्यसलाई सम्बोधन गर्ने उपयुक्त कदम चाल्न आवश्यक छ,’ वक्तव्यमा भनिएको छ।
यौन शोषण वा दुर्व्यवहार भएको अवस्थामा पीडितहरूले उजुरी गर्ने र आवश्यक सेवाहरू तुरुन्त प्राप्त गर्ने सुरक्षित तथा गोप्य माध्यमहरूमा पहुँचका साथै न्याय तथा कानुनी उपचार प्राप्त हुने सुनिश्चित गर्नु अत्यावश्यक रहेको बताइएको छ।
कोभिड-१९ प्रतिकार्यमा संलग्न सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय, अग्रपंक्तिमा कार्यरत व्यक्ति, सुरक्षाकर्मी र स्वयंसेवकहरू सबैलाई संकटासन्न र सीमान्तीकृत अवस्थामा रहेका व्यक्तिहरूको सम्मान र संरक्षण गर्न, र सेवाग्राही तथा सेवाप्रदायक दुवैका लागि यौन शोषण तथा दुर्व्यवहारको कुनै डर नरहेको सुरक्षित वातावरण सिर्जना गर्न हामी आग्रह गरिएको छ।

