PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दार्चुलामा सडक बनाउन भारतीय अवरोध, सीडीओ भन्छन् : टेर्दै टेरेनन्, दूतावासबाटै निर्देशन पठाउन पर्‍यो



कमलराज भट्ट

दार्चुलामा सडक बनाउन भारतीय अवरोध, सीडीओ भन्छन् : टेर्दै टेरेनन्, दूतावासबाटै निर्देशन पठाउन पर्‍यो

काठमाडौं : दार्चुला-छाङरु घोडेटो बाटो निर्माणमा भारतका कारण अवरोध सिर्जना भएको छ। उक्त अवरोध हटाउनका लागि भारतीय पक्षलाई पटक पटक आग्रह गरे पनि अटेरी गरेको छ।

सदरमुकाम खलंगादेखि छाङरुसम्म पुग्ने घोडेटो बाटोको ४ सय ५० मिटर ट्रयाक नेपाली सेनाले बनाइरहेको छ। यहाँ चट्टान र सुख्खा पहिरोका कारण बाटो बिग्रिँदा तिंकर र छाङरुका नेपालीहरु भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलंगा आवतजावत गर्छन्। भारतीय बाटोबाट बाध्यात्मक यात्रा गर्दा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि दुर्व्यवहार गर्दै आएका छन्।

यसपालि छाङरुमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खोलेको सरकारले सुरुमा घोडेको बाटो मर्मत गरी सञ्चालनमा ल्याउने र पछि मोटर बाटो बनाउनेगरी कार्ययोजना अघि बढाएको छ। निर्माणको जिम्मा सेनालाई दिएको छ। सेनाले घाटीबगरमा जेठ महिनादेखि क्याम्प खडा गरेर घोडेटो बाटोको मर्मत पनि गरिरहेको छ। तर, मर्मतका क्रममा भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ।

‘घाटी बगरको माथि भारतले सडक बनाइसकेको छ। अहिले चौडा गर्दैछ। हाम्रोपट्टी तल साँघुरो ठाउँमा मर्मतको काम भइरहेको छ। माथि सडक विस्तारका क्रममा ठूला चट्टान खसेर हाम्रोतिर निर्माण कार्यमा बाधा पुगेको छ। ठूला ढुंगा उछिट्टिएर महाकालीमा खस्दा पानीको बहाव बढेर हाम्रोतिर बनाएको बाटो नै बगाएको छ भने तल काम गरिरहेका कामदार र सैनिक जवान पनि जोखिममा छन्,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने।

‘भारतीय पक्षले सिधै अवरोध गरेको होइन। तर, उनीहरुको ठेकेदारको काम गराइले हाम्रो काममा अवरोध सिर्जना भयो,’ सिडिओ पोखरेलले थपे।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि भारतीय पक्षको काम गराई र प्रतिकुल मौसमका कारण योजनाअनुसार बाटो मर्मतको काम हुन नसकेको बताए। ‘पारीबाट चट्टान ब्लास्टिङ गर्दा ढुंगा खसेर नदीको बहाव बढेको छ। पानी पर्दा स्थानीय कामदार पनि आउँदैनन्। चट्टानका स-साना टुक्रा क्याम्पसम्मै आउने गरेको स्थिति छ। जोखिम र अवरोधका बीच हामीले पूर्वयोजना बमोजिम निर्धारित समयमा काम सक्न सकेनौं,’ उनले भने।

प्रवक्ता पाण्डेका अनुसार सेनाले घाटीबगरमा २५० मिटरभन्दा बढी घोडेटो बाटो निर्माण गरिसकेको छ। २० मिटरभन्दा बढी बाटो पहिले नै बगाइसकेको छ। सेनाले असार मसान्तभित्रै पूरै ४५० मिटर बाटो बनाइसक्ने लक्ष्य लिएको थियो। तर, भारतीय पक्षका कारण उत्पन्न अवरोध र प्रतिकूल मौसमका कारण आधामात्रै काम सकेको छ।

‘अलिकति डिले भयो। अब वेदर क्लियर भयो भने धेरै समय नलाग्ला,’ प्रवक्ता पाण्डेले भने। उनका अनुसार घाटीबगरका साथै मौरीभीरमा पनि बाटो मर्मतको काम भइरहेको छ।

घाटीबगरमा माथि डाँडामा भारतले विभिन्न मेसिन प्रयोग फराकिलो बाटो बनाइरहेको छ। बीचमा नदी छ। वारि तलतिर नेपाली सेनाको क्याम्प छ। भारतका ठेकेदारले चट्टान फुटाएर नदीमा फाल्छन्। त्यसका टुक्राहरु सेनाको क्याम्पसम्म पनि आइपुग्छन्। जसले त्यहाँ बसेका सैनिकलाई जोखिम छ।

भारतको अटेरी

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार भारतका कारण सिर्जना भएको अवरोध हटाउन भारतीय प्रशासनलाई अनुरोध गरे पनि टेरेको छैन। ‘हामीले पिथौरागढका डीएम, धारचुलाका एसडीएमसँग हामीलाई अवरोध हुनेगरी चट्टान नदीमा नफाल्न, हतार गरेर दुर्घटना हुन नदिनका लागि ठेकेदारलाई भन्दिन आग्रह गर्‍यौं। दुई तीन पटक नै भनिसके,’ सिडिओ पोखरेलले भने, ‘हामी रोक्छौं, मिलाउँछौं भन्छन्। तर अहिलेसम्म कुनै सुनुवाई भएन। हामी निरन्तर पहलमा छौं।’ यसबारे गृह मन्त्रालयमा समेत जानकारी गराइएको प्रजिअ पोखरेलले जानकारी दिए। माथिबाटै दूतावासमार्फत् पहल गर्नुपर्ने उनको भनाई छ।

सैनिक प्रवक्ता पाण्डेले भारतीय ठेकेदारबाट ज्यादै नै अवरोध भएको कुरा जानकारीमा नआएको र त्यो सिडिओले नै हेर्ने बताए। ‘तलबाट जानकारी आयो भने हामी रक्षा मन्‍त्रालयमार्फत् परराष्ट्रलाई भन्छौं,’ उनले भने।

दार्चुलाका स्थानीयले भने भारतीय पक्षले नेपालको बाटो निर्माणमा अवरोध पुर्‍याउने उद्देश्यले नै नेपाली सेनाले क्याम्प खडा गरेको तथा निर्माणको काम गरिरहेको ठाउँमा सडक विस्तारका नाममा निहुँ खोजेको भन्दै आक्रोश पोखेका छन्। ‘हामीले काम गरिराखेकै ठाउँमा आएर अहिले भारतीय ठेकेदारले काम सुरु गरेका छन्। यो हामीलाई अवरोध पुर्‍याउने भारतको चाल हो,’ छाङरुका एक स्थानीयले टेलिफोनमा भने।

भारतले वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको ट्र्याक खोलेको थियो। जसको उद्घाटन भारतका रक्षामन्त्री राजनाथ सिंहले गरेका थिए। त्यसयता लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर नेपाल र भारतबीच सीमा तनाव चर्किएको छ। नेपालले नेपाली भूमिमा सडक निर्माण रोक्न भारतमा पटक पटक भनिसकेको छ। तर, भारत अटेरी गर्दै तीव्रताका साथ बनाइरहेको छ। नेपालतिर घोडेटो बाटो बनाउँदा अनेक बहाना बनाएर अवरोध गर्न खोजिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell